२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

शुक्रबार २६, कार्तिक २०७८ ०७:०५

टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

काठमाडाैं । अस्ट्रेलिया टी-२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ। बिहीबार दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो।

अब उपाधिका लागि अस्ट्रेलियाले आगामी आइतबार न्युजिल्यान्डसँग खेल्नेछ। पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो।

अस्ट्रेलियाको जितमा मार्कोस स्टोइनिसले नटआउट ४० रन र म्याथ्यु वेडले नटआउट ४१ रन जोडे। वेडले १९ ओभरको अन्तिम ३ बलमा पाकिस्तानका शाहीन शाह अफ्रिदीलाई लगातार तीन छक्का हिर्काएका थिए। वेडले १७ बलमा २ चौका र ४ छक्का हिर्काउँदा स्टोइनिसले ३१ बलमा समान २ चौका  र २ छक्का हिर्काए।

वेड र स्टोइनिसबीच छैटौं विकेटका लागि ८१ रनको साझेदारी भएपछि अस्ट्रेलियाले जित हात पारेको हो। त्यसअघि अस्ट्रेलियाले १३ ओभरमा ५ विकेट गुमाउँदा ९६ रन जोडेको थियो।

ओपनर डेभिड वार्नर ४९ रन जोडेर आउट भएका थिए। कप्तान आरोन फिन्च शून्य, स्टिभ स्मिथ ५ रन र ग्लेन म्याक्सवेल ७ रनमा आउट भएका थिए। मिचेल मार्सले २२ बलमा २८ रनको योगदान दिएका थिए।

बलिङमा पाकिस्तानका शादब खानले ४ विकेट लिए भने अफ्रिदीले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा १७६ रन जोड्यो। पाकिस्तानका लागि ओपनर मोहमद रिजवान र फखर जमानले अर्धशतक प्रहार गरे। रिजवानले ५२ बलमा ६७ रन र जमानले ३२ बलमा नटआउट ५५ रनको योगदान गरे। कप्तान बाबर अजाम ३९ रन जोडेर आउट भएका थिए। बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिँदा एडम जाम्पा र पाट कमिङ्ग्सले १-१ विकेट लिए।


प्रतिकृया दिनुहोस