२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

उपत्यकामा मासुको मूल्य ताेकियाे, के काे कति ?

शुक्रबार २२, असोज २०७८ ०७:१६

उपत्यकामा मासुको मूल्य ताेकियाे, के काे कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ ।

सरकार र व्यवसायीहरुबीचको सहमतिमा एक वर्षका लागि मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो ।

वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकैलाई याथवत राख्ने सहमति भएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।

याे मूल्य एक वर्षका लागि मान्य हुने संघका अध्यक्ष रमेश खड्गीले बताए । तोकिएको नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई तीन भागमा छुट्याएर मूल्य तोकिएको छ ।

आन्द्रा र भुँडी मिसिएको खसीको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको मासु प्रतिकिलो १२ सय रुपैयाँ बनाइएको छ । यस्तै उपभोक्ताले छानेर खरिद गर्ने खसीको मासु किलोकाे १३ सय रुपैयाँ तोकिएको अध्यक्ष खड्गीले बताए ।

यस्तै ब्रोइलर कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ किलो कायम गरिएको छ । उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा र बंगुरको मासुको प्रतिकिलो मूल्य पनि ५ सय रुपैयाँ किलो कायम गरिएको छ ।

माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले जनाएको छ । बजारमा अत्यधिक मात्रामा रुचाईने रहु माछाको मूल्य किलोमा ३५० देखि ४ सय हाराहारी पर्ने संघको अनुमान छ । 


प्रतिकृया दिनुहोस