२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

नेपालको एसियन कप खेल्ने सपना अधुरै

मङ्गलबार ०५, असोज २०७८ ०९:५७

काठमाडाैं । हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । 

एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो ।

उज्बेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा भएको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गियो ।

यस खेलसँगै समूह एफमा रहेको नेपालले छनोटमा २ खेलमा १ अङ्क जोड्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । फिलिपिन्सको ३ अङ्क छ भने हङकङको १ अङ्क छ ।

अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । यस समूहको विजेता टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ । 


प्रतिकृया दिनुहोस