२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल र दी राइजिङ धरानको विजयी सुरुआत

शनिबार ०२, असोज २०७८ १०:०२

कास्की । पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा पोखरा रंगशालाभित्रको  बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोर्टस् क्यासल पोखरा र दी राइजिङ धरानले विजयी सुरुआत गरेका छन् ।

खेलमा स्पोर्टस् क्यासलले प्रभातफेरी युथ क्यासललाई ७–० गोलअन्तरले पराजित गर्न सफल भयो । स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले समान दुई गोल तथा किशोर गुरुङ, दीपेश घले र विजय गुरुङले एक/एक गोल गरे। 

यसैगरी दी राइजिङ धरानले मच्छिन्द्र स्काइ गोललाई ५–४ गोलअन्तरले पराजित गरी जितको खाता खोल्न सफल भयो । राइजिङका रिओस मास्केले दुई र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एक/एक गोल गरे । मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सकेनन् । मच्छिन्द्रका आशिस सुनमले एक गोल गरे । 

नेपालमा पहिलोपटक आयोजना गरिएको फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन् । खेल राउण्ड रोविन प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताले फुटसल खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने एन्फा फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले बताए। 

लिग विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित  खेलाडीलाई पाँच हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ । 


प्रतिकृया दिनुहोस