- विशेष खबर शुक्रबार ०१, असोज २०७८ ०६:५५
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वान्टी-२० काे कप्तानी छोड्ने भएका छन् ।
बिहीबार कोहलीले सामाजिक सञ्जालमार्फत आगामी ट्वान्टी-२० विश्वकपपछि उक्त फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, 'यो निर्णयमा पुग्नु सहज थिएन । रवि शास्त्री र रोहित शर्मासँगको लामो कुराकानीपछि मैले यो निर्णय लिएको हूँ । ट्वान्टी-२० विश्वकपपछि ट्वान्टी-२० को कप्तानी छाड्नेछु ।
केही दिनदेखि विराटले टेस्ट टिम र रोहित शर्माले ट्वान्टी–२० र एकदिवसीय टिमको कप्तानी सम्हाल्ने खबर सार्वजनिक भएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले उक्त समाचार सही नभएको स्पष्टीकरण दिएका थिए ।
बीसीसीआईको छनोट समितिले गत बुधबार आगामी टवान्टी–२० विश्वकपका लागि खेलाडी छनोट गरेको थियो । टिममा रविचन्द्रन अश्विनलाई पनि राखिएको छ । अश्विनले सन् २०१७ मा पछिल्लो पटक ट्वान्टी–२० विश्वकप खेलेका थिए । साथै आगामी विश्वकपका लागि पूर्वकप्तान महेन्द्रसिंह धोनी टिमको ‘मेन्टर’ भूमिकामा देखिनेछन् ।
यसपटककाे विश्वकप यूएईमा अक्टोबर १७ बाट सुरु भएर नोभेम्बर २४ मा सकिनेछ । भारतले समूह चरणमै पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
ट्वान्टी–२० का लागि भारतीय टिममा विराट कोहली(कप्तान), रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त(विकेटकिपर), इशान किशान(विकेटकिपर), हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चहर, रविचन्द्रन अश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी छन् । रिजर्भमा राखिएका खेलाडी : श्रेयष अय्यर, दीपक चहर, शार्दुल ठाकुर रहेका छन् ।
प्रतिकृया दिनुहोस