२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

पौडेल समूहका माग सम्बोधन गर्न देउवा तयार, जिल्ला सभापतिको अनशन तोडाउने तयारी

- विशेष खबर शनिबार १२, भदौ २०७८ ११:४८

पौडेल समूहका माग सम्बोधन गर्न देउवा तयार, जिल्ला सभापतिको अनशन तोडाउने तयारी

काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएका मागहरु सम्बोधन गरेरै महाधिवेशन गर्ने सहमति दिएका छन् । जिल्ला सभापतिहरुका तीन बुँदे माग सम्बोधन नगरी महाधिवेशनको प्रक्रिया अघि बढाउँदा अन्योल सिर्जना भएको भन्दै वरिष्ठ नेता पौडेलसहित संस्थापनइत्तर समूहका नेताहरु देउवाको ध्यानाकर्षण गराउन शुक्रबार साँझ बालुवाटार पुगेका थिए । सो क्रममा नेताहरुबीच सबै समस्याहरुको सम्बोधन गर्दै तोकिएकै मितिबाट अधिवेशनको प्रक्रिया अघि बढाउने सहमति जुटेको हो । 

देउवाले भदौ १८ गतेबाटै महाधिवेशन सुरु हुने र समस्याहरुको सम्बोधन गर्दै तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् । महामन्त्री पूर्णबहादुर खड्काले तोकिएकै मितिमा अधिवेशन गर्ने गरी तयारी अघि बढेको बताए । ‘महाधिवेशनको तयारीका क्रममा देखिएका समस्या समाधान गर्ने सम्बन्धमा छलफल भएको हो । सबै समस्या र चुनौतीहरुका बाबजुद पनि १८ भदौबाट अधिवेशन सुरु हुन्छ, त्यहीअनुसार तयारी अघि बढाएका छौँ,’ शुक्रबारको छलफलबारे महामन्त्री खड्काले भने ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझसम्म ४८ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिसकेको छ भने ती जिल्लामा निर्वाचन अधिकृतहरुसमेत खटाएको छ । जिल्ला–जिल्लामा निर्वाचन अधिकृत खटिए पनि वडा अधिवेशनको तयारीमा जुट्नुपर्ने जिल्ला सभापतिहरु भने केन्द्रीय कार्यालयमा रिले अनशन गरिरहेका छन् ।

शुक्रबार साँझको छलफलपछि देउवा र पौडेलले नेताहरु कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदललाई जिल्ला सभापतिका मागबारे छलफल गरेर अनशन तोडाउन जिम्मेवारी दिएका छन् । त्यसबारे पौडेल समूहका नेताहरुले शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छुट्टै छलफल गरेका छन् । जिल्ला सभापतिहरुसमेत सहभागी छलफलमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा.शशांक कोइराला, पूर्वसहमहामन्त्री डा.रामशरण महत, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, मिनेन्द्र रिजाल लगायत नेताहरु सहभागी थिए ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक हुनुपर्ने, सबै जिल्लामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि मात्रै जिल्ला सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने जस्ता माग राखेर केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसिरहेका छन् । त्यही विषयमा शुक्रबार साँझ बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री डा.प्रकाशशरण महत पूर्वसहमहामन्त्री डा.रामशरण महत, केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल र रमेश लेखकलगायत सहभागी थिए ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशनको मिति आउन अब ५ दिनमात्रै बाँकी छ । पार्टीले आवश्यक सहयोग गरेको अवस्थामा तोकिएकै मितिमा महाधिवेशन गर्न कुनै कठिनाइ नभएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए । समितिले शुक्रबार साँझसम्म ४८ जिल्लाको नामावली सार्वजनिक गरेको छ । बाँकी जिल्लाहरुको नामावली पनि क्रमश: सार्वजनिक गरिने यादवले बताए । त्यो नामावली कांग्रेसको वेबसाइटमार्फत हेर्न सकिन्छ । 

कार्यतालिकाअनुसार गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ 


#काँग्रेस #शेरबहादुर देउवा #रामचन्द्र पौडेल

प्रतिकृया दिनुहोस