२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रसले दियाे थप २४ घण्टाकाे समय

- विशेष खबर बुधबार १३, साउन २०७८ ०६:२४

क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रसले दियाे थप २४ घण्टाकाे समय

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरुपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

समितिले बुधबार मात्रै पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरणसम्बन्धी प्रतिवेदन बुझाएको थियो । २०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।

पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् । कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको छ । 


#नेपाली काँँग्रेस #क्रियाशील सदस्यता

प्रतिकृया दिनुहोस