२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सन्दीप लामिछानेले 'द हन्ड्रेड' लिग खेल्न नपाउने

- विशेष खबर मङ्गलबार ०५, साउन २०७८ ०८:२८

सन्दीप लामिछानेले 'द हन्ड्रेड'  लिग खेल्न नपाउने

काठमाडाैं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् । लामिछानेले आफूले 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएकोमा निराशा व्यक्त गरेका छन्। 

बेलायतको टियर-५ भिसाको आवेदन दिन  र त्यसका लागि एउटा प्रायोजन पर्याप्त हुने इबिसीले दिएको निर्देशनअनुसार आफूले भिसा लागि आवेदन दिएको सन्दीपले बताएका छन्। उनले टी-२० ब्लास्ट र द हन्ड्रेडका लागि सो  भिसा आवेदन दिएका थिए। तर कोरोनाका कारण भिसा पाउन ढिलाइ भएकाले सुरुमा सन्दीपले टी-२० ब्लास्ट गुमाएका थिए। 

सन्दीप टी-२० ब्लास्टमा वर्सेस्टसायर र्‍यापिडमा आबद्ध भएका थिए। तर भिसा ढिलो गरी पाउँदा टी-२० ब्लास्ट खेल्न जान ढिलाइ भएको थियो।

गत ९ जुलाईमा इंग्ल्यान्ड पुग्दा अध्यागमनमा कुनै समस्या नभएको र बेलायत सरकारले तोकेको होटलमा क्वारेन्टिनमा बसेको सन्दीपको भनाइ छ। १० दिनको अनिवार्य क्वारेन्टिन पूरा हुन दुई दिन बाँकी रहदा इसिबीले भिसा मान्य हुन नसक्ने जानकारी दिएको सन्दीपको भनाइ छ। साथै जतिसक्दो चाडो देश छाड्न भनिएको पनि सन्दीपले उल्लेख गरेका छन्। 

'मैले के गल्ती भयो भनेर सोधेको छु तर स्पष्टरूपमा इसिबीका कोहीसँग पनि सहि उत्तर छैन,' उनले सामाजिक सञ्जालमा लेखेका छन्,'कम्तिमा पनि मेरो मान्य भिसा वैध किन छैन,यसको स्पष्ट उत्तर चाहिन्छ।'

यसअघि सन्दीपले  'द हन्ड्रेड' क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने सक्ने आशंका बढेको भन्दै सोमबार साँझ सामाचार प्रकाशित भएका थिए। सन्दीप द हन्ड्रेड क्रिकेटमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका थिए। उनी ६० हजार पाउन्ड (झण्डै एक करोड रुपैयाँ) मा ओभलमा आबद्ध भएका थिए।

बिहिबार हुने उद्‌घाटन खेलमा ओभलले म्यानचेस्टर ओरिजिन्ससँग प्रतिस्पर्धा गर्दैछ।  सन्दीप प्रतियोगिताका लागि दुई साताअघि इंग्ल्यान्ड पुगेका थिए। उनको ब्रिटिश सरकारले तोकेको होटलमा आज मंगलबार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा हुँदै थियो।

तर टिएर-५ भिसामा इंग्ल्यान्ड पुगेकाले उनलाई 'द हन्ड्रेड'  खेल्न अनुमति नभएको क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिक इन्फोका पत्रकार मार्ट रोलरले लेखेका थिए। ओभलका कप्तान साम बिलिङ्ग्सले पनि सन्दीपले खेल्ने पक्का नभएको बताएका थिए। 

'अहिलेको अवस्थामा हामी अनिश्चित छौं,' कप्तान बलिङ्ग्सले भनेका थिए,'संसारभरका खेलाडीका लागि विभिन्न प्रतिबन्धका लागि अहिले कठिन समय बनेको छ। यो समस्याको समाधान हुन्छ भन्ने आसा गरेको छु। उनी एक विशेष प्रतिभा भएका खेलाडी हुन्।'

अहिलेको अवस्थामा ओभलले तीन विदेशी खेलाडी मध्ये दुई जनालाई मात्र खेलाउन पाउछ। जसमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम  र वेस्ट इन्डिजका सुनिल नारिन लन्डन पुगिसकेका छन्। उनीहरू टिमका लागि उपलब्ध हुनेछन्। 

 


#सन्दीप लामिछाने

प्रतिकृया दिनुहोस