२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ काे व्यवस्था

- विशेष खबर मङ्गलबार ०५, साउन २०७८ ०५:५३

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ काे व्यवस्था

काठमाडाैं । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो ।

यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए । प्रविधिमार्फत पार्टीको आगामी १४औँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमताको विकास गरिएको छ । महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

विभागको हालै सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गर्नाका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनीयरहरूको नेटवर्क तयार गरिएको छ । महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्नेलगायत अन्य निर्णय पनि गरिएको उनले बताए ।

विभागले यसअघि नै ‘प्रविधि मैत्री अभियान’का क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डाटा इन्ट्री) को काम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । विभागले महाधिवेशनको प्रचारलाई विगतभन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने र त्यसका लागि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधारलगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशील सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव मगरलाई दिइएको छ । 


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस