- विशेष खबर आइतबार ०३, साउन २०७८ १०:३३
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन् ।
देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गरेका छन् । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।
सभामुख सापकोटाका अनुसार मतदानमा २४९ उपस्थित भएका थिए । प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधव नेपाल पक्ष र जनमोर्चाका सांसदहरुले मत दिएका हुन् ।
विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्वासको मत लिएका हुन् ।
प्रतिकृया दिनुहोस