२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

जसपा यादव समूह सरकारमा सहभागी हुँदै

शनिबार ०२, साउन २०७८ ०९:४१

जसपा यादव समूह सरकारमा सहभागी हुँदै

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम  ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न  बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाइने बैठकले निर्णय गरेको छ । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ । 

जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुङ्गो लागेको छैन । आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ ।

जसपा यादव समूहको शनिबारको बैठकमा १७ सङ्घीय सांसद र तीन राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आएको जनाइएको छ । 

सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्वबिदालगायत विषय उठाउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिए। (रासस)


प्रतिकृया दिनुहोस