२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

स्थायी कमिटी बैठकबाट बाहिरिए नेपाल पक्षका नेता, सरकारलाई विश्वासको मत नदिने ओली समूहकाे निर्णय

- विशेष खबर शुक्रबार ०१, साउन २०७८ ०१:४२

स्थायी कमिटी बैठकबाट बाहिरिए नेपाल पक्षका नेता, सरकारलाई विश्वासको मत नदिने ओली समूहकाे निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् ।

शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठकस्थल पुगेका थिए ।

नेता रावलले बैठक रोक्न आग्रह गरेको जानकारी दिए । तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।

बैठक रोक्न आग्रह गरे पनि अध्यक्ष ओलीले नमानेपछि आफूहरू निस्किएको नेता रावलले बताए । 'दुई नेताबीच कुराकानी गर्ने र कार्यदलको सहमत अनुसार जाऔं । पार्टीको एकताका लागि हामी प्रतिबद्ध छौं । हामीबाट सहयोग रहन्छ । सबैभन्दा बढी पार्टी अध्यक्षले सोच्नपर्यो, त्यसपछि वरिष्ठ नेताले सोच्नपर्यो भनेर हामीले आग्रह गर्यौं । तर पार्टी अध्यक्षले धेरै केही भन्नु भएन । यो बैठक जारी रहन्छ । यसका कार्यसूचि अगाडि बढाउनुस् भन्नुभयो । त्यसपछि यिनै कुरामा बैठक अगाडि बढ्ने हो भने हाम्रो सहभागिता छैन । हामी हिड्यौं भनेर निस्कियौं,' नेता रावलले भने ।

कार्यदलको सहमतिअनुरुप काम अगाडि बढ्ने आशा गरे पनि त्यसो हुन नसकेको उनले बताए । 'कार्यदलले जे सहमति गरेको छ तदअरुप पार्टीका कामहरु अगाडि बढ्ने छन् भन्ने आशा गरेका थियौं । एमालेको एकता आवश्यक छ । यसलाई टुटाउने काम नगरियोस् । कार्यदलमा भएको सहमतिभन्दा अन्यथा नगरियोस् । राजनीतिक उथलपुथलले गर्दा आज राष्ट्र अप्ठेरो स्थितिमा छ । त्यसकारण एमालेको एकतालाई अगाडि बढाउन स्वयं पार्टी अध्यक्ष र बैठकमा उपस्थित हुनुभएका अरु कमरेडहरुले गम्भीर रुपमा सोच्नुस् । र यो बैठक स्थगित गर्नुस् भनेका थियौँ,' उनले भने ।

यस्तै नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।


#नेकपा एमाले

प्रतिकृया दिनुहोस