२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

देउवाद्वारा शपथ लिन अस्वीकार, नियुक्ति पत्र सच्याएर शपथ गराउने राष्ट्रपति कार्यालयले तयारी

- विशेष खबर मङ्गलबार २९, असार २०७८ ०८:१५

देउवाद्वारा शपथ लिन अस्वीकार, नियुक्ति पत्र सच्याएर शपथ गराउने राष्ट्रपति कार्यालयले तयारी
तस्बिरः रासस

काठमाडौं । प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिको पत्रलाई लिएर विवाद भएको छ । प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेका हुन् ।

देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ कार्यक्रम ६ बजे तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका थिए । तर, प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेशअनुसार भनेर लेखिएको व्यहोरा सच्याउनुपर्ने माग देउवाले गरेपछि शपथ हुन नसकेको हो ।

राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर शपथ गराउने तयारी गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

शपथलाई लिएर विवाद भएपछि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता देवप्रसाद गुरुङ छलफलमा रहेका छन् । उनीहरूले शपथ ग्रहणको विषयमा उत्पन्न विवाद समाधानबारे छलफल गरिरहेका छन् ।

देउवाले राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नलिने अडान लिएका छन् । नियुक्ति पत्रमा संविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनको अडान छ ।


#शेरबहादुर देउवा

प्रतिकृया दिनुहोस