२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

विपक्षी गठबन्धनमा नबस्ने माधव नेपालकाे निर्णय

- विशेष खबर सोमबार २८, असार २०७८ ०८:४७

विपक्षी गठबन्धनमा नबस्ने माधव नेपालकाे निर्णय

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो ।

बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताएका छन् । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुलाई कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।’ उनको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको एक नेताले बताएका छन् ।

नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पारेका छन् । प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएको भन्दै उनले भने, ‘पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भइसक्यो । अब हामी विपक्षी गठबन्धनमा रहँदैनौं ।’

बैठकमा वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

नेता नेपालले पार्टीको आन्तरिक समस्या समाधान गरेपछि मात्रै राष्ट्रिय राजनीतिमा ध्यान दिने बताएका थिए। सबैलाई मिलाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्न उनले देउवालाई सुझाएका थिए। एकलौटी रूपमा अघि नबढ्न समेत उनले देउवालाई भनेका थिए।

'कार्यदलले सकारात्मक काम गरिरहेको छ। अब कार्यदलले गरेको सहमति अनुसार हामी पार्टीलाई मिलाउनतर्फ लाग्छौं,'नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो,'राष्ट्रका समस्या समाधान गर्ने बारेमा एमालेसँग समेत सहमति गरेर अघि बढ्नुहोला।'

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेपाल समूह विपक्षी गठबन्धनमा गएको थियो । एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेपछि  देउवा सर्वोच्च गए, जहाँ उनले माधव नेपाल समूहका २३ सांसदको साथ पाएका थिए ।

तर सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएको छ । यससँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ । 


#विपक्षी गठबन्धन #माधवकुमार नेपाल #नेकपा एमाले

प्रतिकृया दिनुहोस