२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्वाचन आयोगको निर्णय

- विशेष खबर आइतबार २७, असार २०७८ ०४:२२

माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ आयोगको निर्णयमा भनिएको छ ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरू पूर्वपार्टी अवैधानिक दाबी रहेको गर्दै दर्ता खारेजीका लागि शुक्रबार आयोगमा पुगेर निवेदन दिएका थिए । रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलगायता नेताहरुको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले लामो अवधिसम्म महाधिवेशन नै नगरेको भन्दै माओवादी केन्द्रको वैधतामा प्रश्न उठाउँदै आयोगमा निवेदन दिएका थिए ।

माओवादी केन्द्रले २०६९ सालपछि महाधिवेशन नै नगरेको आधार देखाउँदै पूर्वमाओवादी नेताहरूले पार्टीको दर्ता खारेजीको माग गरेका हुन् । शुक्रबार रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरू आयोग पुगेका थिए । संविधानमा राजनीतिक दलको महाधिवेशन ५ वर्षमा गर्नुपर्ने र विशेष परिस्थितिमा थप ६ महिनाभित्र गर्न सकिने व्यवस्था छ ।

 


#निर्वाचन आयोग

प्रतिकृया दिनुहोस