२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

बैंक कर्मचारीकाे सुरक्षा खाेइ ?

नरेश अवस्थी 'अल्पविराम' बुधबार २९, बैशाख २०७८ १०:१६

बैंक कर्मचारीकाे सुरक्षा खाेइ ?

पुरै विश्व मानवजगत अहिले कोरोना महामारीको चपेटमा छ । दैनिक लाखौं संक्रमित भइरहेका छन् । हजारौंले मृत्युवरण गरिरहेका छन् । हाम्रो देशमा पनि दैनिक सयौंले ज्यान गुमाइरहेका छन् । कतै अक्सिजन नपाएर त कतै समयमा एम्बुलेन्स गाडी नपाएर ।  दैनिक सयौं जनाले अकालमै ज्यान गुमाईरहँदा पनि सरकारले उपचारको लागि उचित व्यवस्थापन गर्नसकेको छैन ।

यस्तो महामारी चलिरहँदा पनि बैंकलाई अत्यावश्यक सेवामा राखि विना सुरक्षा मापदण्ड अनुसार दैनिक सञ्चालनमा रहेका छन् । बैंकमा हजारौं मानिसको भिड चलिरहेको छ तर पनि सम्बन्धित निकाय मौन छ । कुनै चासो देखाईएको पाइदैन ।

के बैंकको कार्ड झुन्ड्याएर अफिस जाँदा कोरोना लाग्दैन ? के बैंकको भिडभाडमा कोरोना लाग्दैन ?  के बैंकका कर्मचारीलाई आफ्नो ज्यानको र आफ्नो परिवारको माया लाग्दैन ?

घरबाटै काम गर्ने भनेर लिएको वर्क फ्रम हाेम कसका लागि ? सिएसडी र टेलरमा काम गर्नेले कसरी यो वर्क फ्रम हाेमबाट जीवन सुरक्षित राख्ने ? हामी डिजिटलबाट धेरै अगाडि फड्काे मारिसके भनेर ठूलो भाषण गर्नेहरूले किन ग्राहकले बैंकमै आउनुपर्ने बाध्यताको अन्त्य  गर्न नसकेको ?

कोरोनाको सबैभन्दा बढी जोखिम बैंकमा रहेको छ त्यो पनि शाखा कार्यालयमा काम गर्ने त्यसमा पनि सबैभन्दा बढी नगद र ट्रेलरमा रहेको छ । त्यति हुँदा पनि यी दुइमा न वर्क फ्रम हाेम लागू हुन्छ न त डिजिटल माध्यमले यसको समाधान गर्न सकेको छ । 

अर्कातिर धेरै स्थानीय तहले बैंक बिहान ७ बजेदेखि ११ सम्म कुनैले ९ देखि १२ सम्म भनेर निर्देशन दिएका छन् । यस्तो किन र कुन आधारमा ? यसले कोरोना नियन्त्रण गर्न के भुमिका खेल्छ ? यसरी बैंक संञ्चान गरे कोरोना लाग्दैन भन्ने वैज्ञानिक आधार के छ ? जति कम समय बैंक खुल्छन जति कम कर्मचारी शाखामा उपस्थित हुन्छन् त्यति नै भिडभाड बढ्न जान्छ  जसले कोरोना बढी संक्रमण हुने सम्भावना हुदैन त ?  बैंक लगायत सबै कार्यालयहरु १०/१५ दिन बन्दगरिदिए हुदैन त ? अतिआवश्यक समान खरिदको लागि डिजिटल माध्यम प्रयोगगर्ने गर्दा केही हदसम्म कोरोनाको खोखिम कम गर्न सकिन्थ्यो कि? 

अस्पलातहरुमा भर्ना नलिने समाचारहरु आईरहेका सबैले सुनिराख्नु भएकै छ । यति हुदाहुदै पनि बैंक सञ्चालनमा छन् यदि भोलिका दिनमा बैंकका कर्मचारीहरु कोभिड १९ को संक्रमणमा पर्दा उपचारको जिम्मा कस्ले लिने ? हामी संक्रमित भए उपचार हुन्छ भन्ने आधार के छ ? जब कि गत बर्षको कोरोना बिमा गरे वाफतको रकम त अहिले सम्म बिमाले भुक्तानी गरेको अवस्था छैन ।

बैंक अत्यावश्यक सेवा हो र खोल्न जरुरी छ भने कोभिड संक्रमित भएको अवस्थामा पाउने उपचारको चित्त बुझ्दो मापदण्ड तयार किन नगरेको ?  यसमा नेपाल राष्ट्र बैंकलगायतका सम्बन्धित निकायको ध्यान किन छैन ? यसमा छिटो ध्यान जाओस् र तत्कालै यसको उचित  मापदण्ड तयार होस् । 

ज्यान हाम्रो पनि हो, आश्रीत परिवार हाम्रो पनि छ, हाम्रा पनि सपना छन्, हामीलाई पनि ज्यानको माया लाग्छ । हामी सेवा दिन तयार छौ तर हामी संक्रमित भए उपचार को ले गरिदिने र अस्पतालहरुले अक्सिजन छैन भनि बिरामी भर्ना नै नलिईरहेको अवस्थमा हाम्रो उपचार कहाँ हुने हाे ?  यदि संक्रमण भई उपचार नपाई ज्यान गुमाउनु परे यस्को जिम्मेवारी कसले लिने ?


प्रतिकृया दिनुहोस