२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने नेपाल समूहकाे निर्णय

- विशेष खबर मङ्गलबार ०७, बैशाख २०७८ ०६:०१

ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने नेपाल समूहकाे निर्णय

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कारबाही गरेमा कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको छ । 

काठमाडौंमा उपलब्ध एमालेका नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

नयाँ बानेश्वरमा मंगलबार बसेको नेपाल समूहका सांसदको मंगलबारको बैठकपछि सांसद झाँक्रीले भनिन्, 'स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिरक्षा गर्छौं र राजनीतिक लडाइँ पनि लड्छौं ।'

माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको थियो । 'आकस्मिक हिसाबमा बस्यौं । व्यक्तिगत स्पष्टीकरण सोधेको भएर व्यक्तिगत रूपमा नै बुझाउँछौं । यो कुनै स्पष्टीकरण दिनलायक स्पष्टीकरण सोधिएको त होइन । स्पष्टीकरण दिएनौं भने प्रतिरक्षा नगरेको हुन्छ । हामी अदालतसम्म जान्छौं ।'

अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नजाने पनि झाँक्रीले बताइन् । २०७५ जेठ ३ गते पहिलेको एमाले मात्रै आफूहरूले चिन्ने र २०७७ फागुन २८ गते थप भएर आएको बैठकमा नबस्ने पनि उनको भनाइ थियो ।

नेपाल समूहले नयाँ राजनीतिक दल गठन नगर्ने बताएको छ । झाँक्रीले त्यस्तो मनसाय नरहेको बताइन् । उनले एमालेभित्रै रहेर लड्ने योजना रहेको बताइन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको विधि, पद्दति र विचार केही पनि नमानेर चलिरहेको नेपाल समूहको निष्कर्ष थियो । त्यसरी अगाडि बढिरहे पार्टी र कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुग्ने ठहर नेपाल समूहको छ ।


#एमाले #माधवकुमार नेपाल #केपी शर्मा ओली

प्रतिकृया दिनुहोस