२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : दाहाल

- विशेष खबर आइतबार ०५, बैशाख २०७८ ०४:४१

असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : दाहाल
फाइल तस्बिर।

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अर्को सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

‘म अहिले एकक्षणपछि काठमाडौं गएर पार्टीहरुको मिटिङ गर्दै छौं । निरंकुश स्वेच्छाचारी र असंवैधानिक अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं’ आइतबार माडीमा पार्टीको भातृ संगठन वाईसीएलले आयोजना गरेको सभामा बोल्दै अध्यक्ष दाहालले भने ।

उनले कर्णाली प्रदेश सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा भयो सबैले देखेको बताए । ‘गण्डकी प्रदेशमा के हुँदैछ तपाईं हामीले हेरिरहेका छौं । लुम्बिनी प्रदेशमा के हुने छ, देख्दैछौं । र मलाई लाग्छ केही दिनभित्र केन्द्रमा नै एउटा नयाँ कायापलट हुँदै छ, हुनै पर्दछ । म यो विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु’ दाहालले भने ।

नयाँ सरकार केन्द्रमा बनेपछि माडीको विकास र माडीको युवाहरुको रोजगारी र सुकुम्बासीहरुको समस्या र माडीका सबै समस्या समाधान गर्न युद्धस्तरमा काम अगाडि बढ्ने उनले बताए । ‘एउटा निरंकुश सरकार पतन भएर जनपक्षीय सरकार आएपछि फेरि एउटा नयाँ युगको सुरुवात हुने छ’ दाहालले भने । उनले जनपक्षीय मुद्दामा आधारित कुनै षड्यन्त्रमा नलाग्ने, जालझेल नगर्ने शक्तिको सरकार बन्ने बताए ।


#माओवादी केन्द्र #पुष्पकमल दाहाल

प्रतिकृया दिनुहोस