२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

राष्ट्रपति भण्डारी र एमाले नेता खनालबीच करिब एक घण्टा भेट, के भयाे कुराकानी ?

- विशेष खबर शनिबार २१, चैत २०७७ ०७:३३

राष्ट्रपति भण्डारी र एमाले नेता खनालबीच करिब एक घण्टा भेट, के भयाे कुराकानी ?

काठमाडाैं । सत्तारुढ नेकपा (एमाले) विभाजनउन्मुख रहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् ।

शनिबार खनाल निवास डल्लु पुगेकी राष्ट्रपतिले वर्तमान राजनीतिक परिस्थितिबारेमा कुराकानी गरेकी थिइन् । 

राष्ट्रपतिसँगको भेटमा वर्तमान परिस्थितिबारे छलफल भएको नेता खनालले जानकारी दिए । 'अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुरा गर्‍यौं,' राष्ट्रपतिसँगको भेटबारे खनालले भने, 'उहाँले पार्टी, (कम्युनिस्ट) आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस् मेरो चाहिँ राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा गर्नुभयो ।'

राष्ट्रपति र खनालबीच करिब एक घण्टा भेट भएको थियो । राष्ट्रपतिले नेता खनालको स्वास्थ्यको बारेमा पनि चासो राखेकी थिइन् । जवाफमा खनालले आफ्नो व्यक्तिगत स्वास्थ्यको कुरा भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनको चिन्ता लागेको जवाफ दिएको बताए । 'मलाई व्यक्तिगत स्वास्थ्यको बारेमा कुनै चिन्ता होइन । चिन्ता पार्टीको बारेमा लागेको छ । आन्दोलनको, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा सबै पार्टी बलिया, सुदृढ भए एकताबद्ध भएमात्रै लोकतन्त्र बलियो हुन्छ भने,' खनालले राष्ट्रपतिलाई भनेको कुरा उल्लेख गरे ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ । ओली पक्षले नेपाल पक्षलाई कारबाही गर्ने र नेपाल पक्षले त्यसको प्रतिकारस्वरुप समानान्तर गतिविधि अगाडि बढाउँदा पार्टी विभाजन नजिक पुगेको हो ।

पार्टीभित्र विवाद चुलिएको अवस्थामा राष्ट्रपति भण्डारी वरिष्ठ नेता खनाललाई भेट्न पुगेकी हुन् ।


#राष्ट्रपति

प्रतिकृया दिनुहोस