२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

खनाल-नेपाल समूहले समानान्तर रूपमा संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउने

- विशेष खबर शुक्रबार २०, चैत २०७७ ०६:४५

खनाल-नेपाल समूहले समानान्तर रूपमा संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेकाे खनाल-नेपाल समूहले समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ।

शुक्रबार दिउँसो राजधानीमा बसेको बैठकले गत चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, संगठन विस्तार र सुदृढीकरण अभियानलाई अगाडि बढाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार शनिबार बैठक बसेर अभियानबारे विस्तृत जानकारी र थप कार्यक्रमहरू घोषणा गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै आजको बैठकमा पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको बैठकले विरोध गरेको नेता भिम रावलले जानकारी दिए।

‘केपी शर्मा ओलीले पार्टीको विधान, नियमवालीविपरीत हाम्रो पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेजीलाई ६ महिनाको लागि कथित निलम्बनको कुरा गर्नुभएको छ । त्यसको बैठकले निन्दा, भर्त्सना गरेको छ,’ रावलले भने, ‘केपी शर्मा ओलीले अरुमाथि तानाशाही लाद्‍ने, निरंकुश स्वेच्छाचारी चरित्रको द्योतक हो भनेका छौं ।’

केपी ओलीले पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रह राखेर कारबाही गरेको भन्दै नेता रावलले यसबाट केपी ओली एमालेलाई विभाजित गर्न उद्दत भएको पुष्टि हुने बताए।

त्यस्तै एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसअघि नेता माधवकुमार नेपाल र रावललाई पनि कारबाही गरेका थिए ।


#एमाले

प्रतिकृया दिनुहोस