२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

एनएसएल : बुटवल लुम्बिनीले सार्वजनिक गर्‍यो टिम

- विशेष खबर शुक्रबार २०, चैत २०७७ ०६:२७

एनएसएल : बुटवल लुम्बिनीले सार्वजनिक गर्‍यो टिम

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनीले शुक्रबार आफ्नो टिम सार्वजनिक गरेको छ ।

यसै क्रममा लुम्बिनीले तीन विदेशी खेलाडीको नाम पनि घोषणा गरेको छ । घोषित तीन विदेशी खेलाडीमा नाइजेरियाका मिडफिल्डर करिम नुरिम, घानाका फरवार्ड विलियम ओपुको र चाडका फरवार्ड अरमान्ड बेडोम रहेका छन् ।

यीमध्ये नुरिम र ओपुकोले भर्खर सकिएको आई–लिगमा सहभागिता जनाएका थिए । अरमान्डले नेपालमा घरेलु प्रतियोगितामा खेलिसकेका छन् । टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धर रहेका छन् । यस्तै टिमका महाप्रबन्धक/निर्देशक राजु शाक्य रहेका छन् ।

मार्की खेलाडीमा विशाल श्रेष्ठ छन् । एनएसएलमा सहभागी सात टिममध्ये प्रत्येकले २० खेलाडीको टिम बनाउने छ । त्यसमा एक मार्की र १४ खेलाडी लिलामीबाट आएका हुन् । यस्तै तीन विदेशी र दुई स्थानीय खेलाडी पनि हुनु पर्नेछ । बुटवल लुम्बिनीले दुई स्थानीय खेलाडीबारे निर्णय गरिसके पनि त्यसको नाम भने खुलाएको छैन ।

टिमको बन्द प्रशिक्षण भने केही दिनमा सुरु हुनेछ र टिमलाई सोल्टी होटलमा राखिनेछ । टिमको लिलामीबाट किनिएका खेलाडीमा आशिस लामा, सेसेहाङ आङडम्बे, सुरज विक, रविन श्रेष्ठ, आमिर श्रेष्ठ, सुमन लामा, लक्ष्मण रुचाल, जय गुरुङ, प्रदीप पौडेल, मानबहादुर परियार, रवि थापागमर, अनिल महर्जन, सत्रुधन चौधरी र चेतनकुमार थारु रहेका छन् ।

कार्यक्रमका अवसरमा टिमको गीत पनि सार्वजनिक गरिएको थियो । ‘यो खेल हो’ बाट सुरु भएको गीत सुगम पोखरेलले गाएका छन् ।


#नेपाल सुपर लिग

प्रतिकृया दिनुहोस