२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

दाहालले दिएको निवेदनमा आज सुनुवाइ, प्रधानन्यायाधीशकाे नेतृत्वमा ३ सदस्यीय इजलास गठन

- विशेष खबर बिहिबार १९, चैत २०७७ १०:४८

दाहालले दिएको निवेदनमा आज सुनुवाइ, प्रधानन्यायाधीशकाे नेतृत्वमा ३ सदस्यीय इजलास गठन

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन माग राखी दर्ता गरेको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको तीन सदस्यीय इजलासमा उक्त मुद्दाको पेसी तोकेको हो । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । आजको सुनुवाइले दाहालले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।

इजलासले पुनरावलोकन गर्ने भनी आदेश गरेमा फैसला कानुनसम्मत छ/छैन भन्नेबारे पुनरावलोकन हुनेछ । पुनरावलोकन नहुने भनी आदेश गरेमा गत फागुन २३ कै फैसला अन्तिम भएर बस्नेछ ।

निवेदनको व्यहोरामा दाहालले ‘सर्वोच्च अदालतको गैरकानुनी आदेशले आफूलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष कायम गराएको भनिएको’ भन्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अध्यक्षको हैसियतमा निवेदन दर्ता गराएका हुन् ।

दाहालले दर्ता गरेको निवेदनमा विभिन्न २० वटा आधार र कारण अघि सारेर उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी छ । ‘संविधान र कानुनसम्मत तबरबाट दलहरू एकीकरण भई एकीकरणको सम्बन्धमा कुनै विवादसमेत नरहेको अवस्थामा छुट्टिन बाध्य पारिएको आदेशले न्यायको मान्य सिद्धान्तको घोर अवज्ञा र उपहास गरेको छ,’ निवेदनमा छ, ‘यो आदेश संविधानको धारा १७ को उपधारा २ विपरीत छ ।’

उक्त उपधारामा स्वतन्त्रताको हकअन्तर्गत राजनीतिक दल खोल्ने स्वतन्त्रताको व्यवस्था गरिएको छ । दाहालले अदालतको आदेशले नेपाल कम्युनिस्ट पार्टी नै दर्ता गर्न रोक लगाएको आरोप लगाएका छन् । उनको दाबी छ, ‘यो नामबाहेकका नाम राखी दल दर्ता गर्नु भनी भएको आदेश नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको जनताको प्रजातान्त्रिक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली भन्ने अवधारणासमेतको विपरीत छ ।’ दाहालले ‘अदालतले संवैधानिक एवं कानुनी प्रश्नको लक्ष्मणरेखा नाघेर राजनीतिक विषयवस्तुमा प्रवेश गरेको’ आरोप लगाएका छन् । अर्को दलसँग नाम मिल्दोजुल्दो भएमा अर्को नाम राख्ने वा प्रस्ताव गर्ने मौका दिनुपर्नेमा दल नै विघटन गरेको आरोप निवेदनमा छ ।

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो दलको नाम मिलेको हकसम्म मात्रै आपत्ति जनाएको भन्दै निवेदनमा त्यसबाहेक कट्टेलले दलको एकीकरण भएको, निर्वाचन चिह्न पाएको लगायतका विषयमा अस्थित्व स्विकारेकाले अदालतले माग नगरेको विषयमा आदेश दिएको आरोप दाहालले लगाएका छन् ।


#सर्वोच्च अदालत #पुष्पकमल दाहाल

प्रतिकृया दिनुहोस