२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

गोलरहित बराबरीसंगै नेपाल थ्री नेसन्सकपकाे फाइनलमा

- विशेष खबर शनिबार १४, चैत २०७७ ०८:३२

गोलरहित बराबरीसंगै नेपाल थ्री नेसन्सकपकाे फाइनलमा

काठमाडौं । थ्री नेसन्सकप फुटबलमा शनिबार नेपाली राष्ट्रिय टिमले बंगलादेशसंग गोलरहित बराबरीको खेलेकाे छ ।

बराबरीसंगै नेपालले थ्री नेसन्सकपको फाइनल यात्रा भने तय गरेको छ । प्रतियोगिताको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशले ०–० खेलेको हो । नेपालले बंगलादेशविरुद्धको यस प्रतिस्पर्धासँगै पछिल्ला छ खेलमा गोल गर्न सकेको छैन ।

नेपालले अन्तिम पटक विश्वकप छनोटमा चिनियाँ ताइपेयीविरुद्ध दुई गोल गरेको थियो । त्यसको ६२ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए र त्यसयता लगातार ५ सय ६८ मिनेटको खेलमा नेपालले कुनै गोल गर्न सकेको छैन ।

नेपाल बंगलादेशविरुद्धका लगातार पछिल्ला तीन खेलमा पनि गोल गर्न असफल रहेको छ । नेपालले किर्गिस्तान यू-२३ टिमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

अहिलेको नतिजापछि नेपाल दुई अंकमा दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । बंगलादेश भने चार अंकमा शीर्ष स्थानमा रह्यो र यसले यसअघि नै फाइनल यात्रा तय गरिसकेको थियो । उसले पहिलो खेलमा किर्गिस्तानलाई हराएको थियो । किर्गिस्तान भने दुई खेलबाट एक अंकमै सीमित रह्यो र प्रतियोगिताका तीन टिममध्ये अन्तिम स्थानमा रहेर बाहिरियो ।

नेपाललाई फाइनल पुग्न कम्तीमा हारबाट जोगिन आवश्यक थियो र टिमले त्यसलाई आत्मसात गर्न भने सफल रह्यो । अब नेपाल र बंगलादेशबीच उपाधिका लागि सोमबार भिडन्त हुनेछ ।


#थ्री नेसन्सकप #फुटबल

प्रतिकृया दिनुहोस