२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

आक्रमक खेलमा नेपालकाे निराशाजनक बराबरी, बंगलादेश फाइनलमा

- विशेष खबर बिहिबार १२, चैत २०७७ ०८:५४

आक्रमक खेलमा नेपालकाे निराशाजनक बराबरी, बंगलादेश फाइनलमा

काठमाडौं । थ्री नेसन्सकपमा नेपाल बिहीबार किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरीमा रोकिएको छ । १० खेलाडीमा सीमित यू–२३ टिमविरुद्धको यो नतिजा नेपाली राष्ट्रिय टिमका लागि निराशाजनक नतिजाका रूपमा रहनेछ ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ र त्यसले फाइनल पुग्ने दोस्रो टिमको निर्णय गर्नेछ । यो नतिजापछि बंगलादेश भने फाइनल पुगेको छ । उसको ३ अंक छ र उसले पहिलो खेलमा किर्गिस्तानी टिमलाई हराएको थियो । नेपाल र किर्गिस्तान भने एक एक अंकमा रहे । अंक तालिकामा नेपाल भने दोस्रो स्थानमा रहेको छ ।

अब नेपालले बंगलादेशलाई अन्तिम खेलमा बराबरीमा रोके पनि फाइनल पुग्न सक्नेछ । किर्गिस्तानले पनि आफ्नो भाग्य थाहा पाउन अन्तिम खेलको नतिजा कुर्नु पर्नेछ । पहिलो हाफमा नेपाली किर्गिस्तानमाथि पूर्णत: हाबी रह्यो र लगातार आक्रमण बुन्यो । चौथो मिनेटमा तेज तामाङको फ्रि हेडर पोस्टको नजिकबाट बाहिरिएको थियो ।

यस्तै, दसौं मिनेटमा त्रिदेव गुरुङको हेड प्रहार फेरि पोस्टको नजिकबाट बाहिरियो । यस्तै १४ औं मिनेटमा अञ्जन विष्टको क्रस पोस्टमा लागेर बाहिरियो । उनैले ३३ औं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । त्यस अवधिमा नेपाली गोलरक्षक किरण चेम्जोङ पूर्णत: आराममा रहे र किर्गिस्तानले कुनै पनि आक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा भने किर्गिस्तानले केही उल्लेखनीय आक्रमण बनाएको थियो र ५७ औं मिनेटमा बोरुबेभ गुल्जितको फ्रि किक पोस्टको नजिकको दूरीबाट बाहिरियो । लगतै ५४ औं मिनेटमा उनकै फ्रि किकमा किरणले सजिलो बचाउ गरे । यस्तै ६३ औं मिनेटमा रञ्जितको हेडले पनि आफ्नो दिशा लिन सकेन ।

किर्गिस्तान गोलरक्षक प्रियडकिन अर्टेनले लगातार बचाउ गरे । खेलको ६७ औं मिनेटमा किर्गिस्तानी कप्तान तासियेभ कामोलिडिन दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र टिम १० खेलाडीमा सीमित रहेको थियो । त्रिदेव गुरुङ र सन्जोग राईले नेपाली राष्ट्रिय टिमबाट पहिलो पल्ट खेले, तर विपक्षी टिम किर्गिस्तानको ओलम्पिक टिम भएको हुनाले यसलाई आधिकारिक भने मानिने छैन । अब प्रतियोगिताको अन्तिम लिग खेल नेपाल र बंगलादेशबीच शनिबार हुनेछ । यो दुई राष्ट्रिय टिमबीचको मान्यता प्राप्त आधिकारिक खेल हुनेछ ।


#थ्री नेसन्सकप

प्रतिकृया दिनुहोस