२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

काेराेनाले सिकाएकाे पाठ

नरेश अवस्थी 'अल्पविराम' शुक्रबार २१, चैत २०७६ १२:४१

काेराेनाले सिकाएकाे पाठ

नरेश अवस्थी 'अल्पविराम'

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसले मानव जीवनलाई एक ठुलो चुनौति दिइरहेको छ ।  कोरोना भाईरसको प्रभावले नेपाल पनि अछुतो छैन ।

अहिले विश्वमा ५३ हजार जना भन्दा बढीले काेराेनाबाट ज्यान गुमाइसकेका छन भने १० लाख बढी संक्रमित भएका छन् । यसको ठूलो प्रभाव इटली, स्पेन, फ्रान्स, अमेरिकालगायतका देशमा परेको छ। नेपालमा पनि ६ जनामा यसको संक्रमण देखा परेको छ ।

यस्तो विपतको घडीमा सबै मिलेर काेराेनािबिरूद्धको लडाइँ लडनु पर्ने भएकाे छ । कोरोना भाइरस यस्तो शक्तिशाली भएर आएकाे छ कि, स्वास्थ्य विज्ञानमा आफुलाई अब्बल भन्ने राष्ट्रहरुले पनि हात उठाउनु परेको छ । स्वास्थ्य विज्ञानमा अहिले सम्मकै ठूलो चुनौतिकाे रूपमा काेराेना भाइरस बनेकाे छ ।

अहिले नेपाललगायतका अधिकांश मुलुक लकडाउनमा छन् । काेराेनाका कारण लकडाउनले मानवीय जीवन कष्टकर भएको छ । यस्तो अवस्थामा धेरै नेपाली भारतका सीमा नाकामा अलपत्र अवस्थामा छन् । केहीले  महाकाली नदीमा पाैडिएर जन्मभूमिकाे आगन टेक्ने जाखिम माेलेका छन् ।

कमाउँदा हाई-हाई हुने तर विपत्तिका बेला आफ्नो देशमा प्रवेश गर्न पनि नपाउने? 

मुखदर्सक भएर बस्ने सरकारलाई म कुन शव्दले सम्बोधन गरु ! 

नेपालका महामहिम राष्ट्रपतिज्यू अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीहरुप्रति चिन्ता व्यक्त गर्ने, तर भारतमा ज्यालादारी गरि छाक टार्ने गरिबका छोराछोरी बारे कुनै चासो नदेखाउने किन ?

के तिनीहरु याे देशका नागरिक होइनन् ? उनीहरुलाई देश र घरपरिवारको माया लाग्दैन ? किन स्वदेश प्रवेश गर्दा रोक लगाएको ? निर्वाध रुपमा देश प्रवेश गराई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे हुँदैनथ्याे ? 

कोरोना भाईरसको यो भयावह अवस्थामा दैनिक ज्यालादारी गरि खाने वर्गलाई ठूलो प्रभाव परेको छ । उनीहरुले छाक टार्न समेत पाइरहेका छैनन् । दीर्घ रोगका बिरामीले औषधि पाउन सकेका छैनन् । दैनिक उपभोग्य बस्तु सहजै उपलब्ध छैन । अन्य विरामीहरुले समयमा उपचार नपाई अकालमै ज्यान गुमाइरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि सरकारले सानो राहत प्याकेज पनि दिन सकेको छैन ।

सहयोगी दाताहरूले करोडौं रुपैयाँ दिइरहेकाे सुनिन्छ । तर पनि गरिब परिवार भोकै बस्न बाध्य छन् । रोगले भन्दा भोगले मर्ने अवस्था आउँदा समेत सरकारको ध्यान किन पुग्न सकेकाे छैन ?

यस्तो अवस्थामा हरेक नागरिक मिलेर सहयोग गरौँ । विपत्तिका बेला ज्यान जोगाउन मद्दत गर्नु हरेक नागरिकको कर्तव्य हो ।

मानिस आफुलाई सर्वश्रेष्ठ प्राणी भन्न रुचाउँछन् । प्रकृतिमा आफूभन्दा ठूलो कोही छैन भनेर दाबी गर्छ । तर, मानवलाई पनि चुनौति दिएको छ यो भाईरसले । प्रकृतिको पनि आफ्नो विधि र प्रक्रिया हुन्छ ।

जस्ताे देशको संविधान र कानुन मिच्दा वा उल्लंघन हुँदा त्यहाको सरकारले त्यसलाई नियन्त्रण तथा  कार्यान्वयन गराउँछ । प्रकृतिको विधि र प्रक्रिया विपरीत हुँदा त्यसलाई प्रकृतिले नै नियन्त्रण गर्दछ । प्रकृतिमा विभित्र बिनास भईरहेका छन् । जसले वातावरणमा नराम्रो प्रभाव परेर प्रकृतिलाई ठूलो असर भइरहेकाे छ । अहिले काेराेना भाईरसकाे रूपमा देखिएर प्रकृतिले गरेको एक नियन्त्रण पाे हो कि !

 हरेक क्षेत्रमा आफुलाई अब्बल ठान्ने मान्छे आज पराजित भईसकेका छन् । यसबाट मानिसले एक राम्रो पाठ सिक्न जरुरी छ ।


प्रतिकृया दिनुहोस