२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

माधव नेपाल पक्षले चैत ४ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने

- विशेष खबर शनिबार २९, फागुन २०७७ ०३:२५

माधव नेपाल पक्षले चैत ४ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो । 

शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार चैत ४ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ । जसमा आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ ।

सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा संगठनको कामको जिम्मा रघु पन्त, विद्यार्थीको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला संगठनको जिम्मा अष्टलक्ष्मी शाक्य, वुद्धिजीवीको जिम्मा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ ।

माधवकुमार नेपालले पार्टीमा आएका पछिल्ला विवादमा कानुनी पाटोबारे कानुन व्यवसायीहरू गोबिन्द वन्दी र टिकाराम भट्टराईसँग परामर्श लिएका छन् ।

स्थायी कमिटीका तर्फबाट जारी हुन लागेको वक्तव्यमा एमालेमा केपी शर्मा ओलीले लिएको कदम र पछिल्लो राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक हुने बताइएको छ । उक्त वक्तव्यमा उपाध्यक्षको जिम्मेवारी खोसिएका वामदेव गौतमको पनि हस्ताक्षर हुने नेपाल समूहको दाबी रहेको छ ।

शुक्रबार मात्रै केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको केन्द्रीय सदस्यहरूको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएका थिए। यस्तै उनले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको जानकारी पनि आफूपक्षीय केन्द्रीय कमिटी बैठकमा गराएका थिए ।

एकताअघि २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ओली पक्षका नेता १ सय २ जना थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा मनोनीतमध्ये ओली पक्षमा २८ सदस्य थिए । १ सय ३० जना केन्द्रीय सदस्य रहेको भनिएको एमालेको पहिलो बैठक बसेर माओवादी केन्द्रबाट आएका नेताहरू रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेपछि बसेको दोस्रो बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।


#नेकपा एमाले #माधवकुमार नेपाल

प्रतिकृया दिनुहोस