२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

बीएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने प्रधानमन्त्री ओलीको घाेषणा

- विशेष खबर मङ्गलबार १८, फागुन २०७७ ०३:३९

बीएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने प्रधानमन्त्री ओलीको घाेषणा

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले छिट्टै काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने बताएका छन् ।

कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार विर्तामोडमा उद्घाटन गर्दै ओलीले सो घोषणा गरेका हुन्। सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बिएन्डसीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने ओलीले बताए।

‘यो क्यान्सर अस्पताल मात्र हैन, बिएन्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ,’ उनले भने, ‘यो कुरा अघि बढिसकेको कुरा उहाँ दुर्गा प्रसाईंलाई थाहा छ।’

यसअघि फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौं विश्वविद्यालयको कार्यकारिणी सभा (सिनेट) बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय  गराएका थिए।

मन्त्री श्रेष्ठले एजेन्डा राख्दै गर्दा विश्वविद्यालयकै मेडिकल डिन डा. राजेन्द्र कोजुले सम्बन्धनको प्रक्रिया विश्वविद्यालयबाट अघि बढ्ने कानुनी व्यवस्था नरहेकोतर्फ विचार गर्नुपर्ने बताएका थिए।

मन्त्रीको निर्देशनपछि सभाको निर्णयमा बिएन्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने लेखियो। बिएन्डसीलाई सम्बन्धन दिने प्रक्रिया भने काठमाडौं विश्वविद्यालयबाट अघि बढ्ने सम्भावना छैन। ऐनअनुसार मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया चिकित्सा शिक्षा आयोगबाट मात्र अघि बढ्न सक्ने कानुनी व्यवस्था छ।

सम्बन्धन विश्वविद्यालयले नै दिने भए पनि आयोगबाट त्यसको सम्पूर्ण प्रक्रिया पूरा भएको हुनुपर्छ। त्यसका लागि सम्बन्धन लिने मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगमा निवेदन दिनुपर्छ। आयोगले सम्बन्ध दिन योग्य रहे/नरहेको सबै मापदण्ड हेरेर निर्णय गरी विश्वविद्यालयलाई सिफारिस गर्न सक्छ।

‘आयोगले सिफारिस नगरी सिधै विश्वविद्यालयबाट सम्बन्धन दिन सकिने कानुनी व्यवस्था छैन,’ विश्वविद्यालयका एक अधिकारीले भने, ‘मन्त्रीज्यूको निर्देशन आयो र त्यो दिन सिनेटमा निर्णय गराइयो। तर, प्रक्रिया सुरू हुन आयोगको निर्णय नै चाहिन्छ।’

२०७५ मा चिकित्सा शिक्षा ऐन बन्नुपूर्व यो अधिकार विश्वविद्यालयलाई नै थियो। विश्वविद्यालयका पदाधिकारीले प्रभावमा परेर जथाभावी सम्बन्धन दिलाएको आक्षेप लागेपछि सम्बन्धनलगायतका प्रक्रिया सबै ऐनमार्फत् आयोगमा ल्याइएको छ।

मेडिकल कलेजको सम्बन्धनमा आयोग शक्तिशाली छ। मन्त्री श्रेष्ठले सिनेटमा गएर निर्णय गराउनुको उद्देश्य नबुझिएको अधिकारीहरू बताउँछन्।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।

मंगलार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताए । उनले भने, काठमाडौं विश्वविद्यालयलले छिट्टै सम्बन्धन दिनेछ ।’ अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छे भनेका छन् ।


#प्रधानमन्त्री #दुर्गा प्रसाईं

प्रतिकृया दिनुहोस