२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन ओलीकाे चुनाैती

- विशेष खबर आइतबार १६, फागुन २०७७ ०५:०६

आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन ओलीकाे चुनाैती
फाइल तस्बिर ।

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए ।

'सरकार कुनै पनि हालतमा ढल्दैन । संसद्‌मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनाैती दिन्छु,' प्रधानमन्त्री ओलीले भने ।

जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको भनाइ थियो । उनले वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको बताए । उनले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि बताए ।

निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको बताए । उनले भने, 'अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि ! झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।'

संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उनले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उनले सुनाए । जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे ।

अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’

उनले अघि भने, ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु ।’


#केपी शर्मा ओली

प्रतिकृया दिनुहोस