२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले सरकारको बारेमा निर्णय नलिने

- विशेष खबर बिहिबार १३, फागुन २०७७ ०७:०५

नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले  सरकारको बारेमा निर्णय नलिने

काठमाडौं । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले भने, 'कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुन:स्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।'

उनले नेकपाका दाहाल-नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा एकमत भएको बताए ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ ।

नेकपा दाहाल-नेपाल समूहले संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई पदच्यूत गराउने बाटो खोजिरहेको छ भने ओलीले आफू प्रधानमन्त्रीमा निरन्तरताका लागि वा आफ्नो पक्षले सरकार सञ्‍चालनको प्रयास गर्ने कसरतमा देखिएका छन् । दाहाल-नेपाल समूहले भने कांग्रेस, जसपालगायत दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।


#काँग्रेस

प्रतिकृया दिनुहोस