२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

तोकिएका मितिमा निर्वाचन  सम्पन्न गर्छाैः प्रमुख आयुक्त थपलिया

- रासस शुक्रबार ०७, फागुन २०७७ ०८:०१

तोकिएका मितिमा निर्वाचन  सम्पन्न गर्छाैः प्रमुख आयुक्त थपलिया

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको बताएका छन् ।
 
पाँचौ निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा उनले इतिहासको विरासत र साखलाई खुम्चन नदिइ उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा आयोगलाई पहिचान दिलाउन कृतसङ्कल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता समेत व्यक्त गरे ।
 
आयोगले वि.स २०१५ मा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । यस बर्षको निर्वाचन दिवसको मूल नारा 'निर्वाचनमा सबै, सधैँ, सँगै' भन्ने  रहेको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते गरी २ चरणमा निर्वाचन गर्ने घोषणा गरेअनुरुप आयोग आन्तरिक तयारीमा तीव्ररुपमा जुटिरहेको छ ।

प्रमुख आयुक्त थपलियाले भने,'स्वच्छ,स्वतन्त्र र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्न÷गराउन प्राविधिक तथा व्यवस्थापकीयरुपमा आयोग सक्षम छ, राजनीतिक दलले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने हुन्छ ।'

आयोगका पदाधिकारी तथा सचिवालयका कर्मचारी आयोगको सभाहलमा र जिल्ला निर्वाचन कार्यालयका भर्चुअल माध्यमबाट सहभागी भई आयोजना गरिएको उक्त कार्यक्रमको उनले डिजिटल प्रविधिबाट उद्घाटन गरेका थिए।

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा जानकीकुमारी तुलाधरले आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवाला र कर्मचारीले आ–आफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन आह्वान गरे ।


#निर्वाचन आयोग

प्रतिकृया दिनुहोस