२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदै प्रधानमन्त्री ओली

- विशेष खबर बिहिबार ०६, फागुन २०७७ ११:२१

अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालत जाने भएका छन् । उनी केही बेरमै सर्वोच्च पुग्दै छन् । 

ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।

म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

न्यायाधीश शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा पनि आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश गरेको थियो ।


#सर्वाेच्च अदालत #प्रधानमन्त्री

प्रतिकृया दिनुहोस