२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

निर्मला र भागरथी हत्याकाण्डका अपराधीहरु छिट्टै पक्राउ पर्छन् : प्रधानमन्त्री ओली

- विशेष खबर शनिबार ०१, फागुन २०७७ ०६:४७

निर्मला र भागरथी हत्याकाण्डका अपराधीहरु छिट्टै पक्राउ पर्छन् : प्रधानमन्त्री ओली
तस्बिरः रासस ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताएका छन् ।

नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने दाबी गरे ।

'हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्,' उनले भने । प्रधानमन्त्री ओलीले भागरथी, निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानीमुनी गए पनि नछोड्ने बताए ।

'तपाईंहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस्‌ अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छ', प्रधानमन्त्री ओलीले भने ।

अपराधीहरु कारबाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र उनीहरुले सजाय छुट नपाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, 'दुई/दिन, चारदिन उम्किएलान् । एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । त्यो समय कट्टा हुने छैन । पुराका पूरा सजाय ती अपराधीहरुलाई गराएरै छोड्ने छौं ।'


#प्रधानमन्त्री #केपी शर्मा ओली

प्रतिकृया दिनुहोस