२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन : कसले के भने ? पढ्नुहाेस्

- विशेष खबर बुधबार २८, माघ २०७७ ०७:३७

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन : कसले के भने ? पढ्नुहाेस्
सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभामा उपस्थित नेताहरु । तस्वीरः प्रदीपराज वन्त, रासस

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्याे ।

पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व गर्न पार्टीले विभिन्न नेताहरूलाई कमान्डर तोकेको थियाे ।

विराेध सभालाई सम्बोधन गर्दै कसले के भने ?

'नेपाली जनता हाम्रा भगवान हुन्' : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको धम्कीमा आएर निर्णय नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । 
प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै दाहालले मंगलबार निर्वाचन आयोग पुगेर ओलीले धम्काएको समेत बताए ।

'संवैधानिक निकायले राम्रोसँग बुझुन् । केपीका डर, धाकधम्की हैन । हिजो निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो... काइते कुरा । काइते कुरा गर्ने केपीले गएर धम्काउनु भएछ । अहिले आयोगका केही केही मान्छेहरु खोई के हो के हो... अहिले नभनौं, भन्यो भने फेरि बिग्रने हो कि,’ अध्यक्ष दाहालले भने, 'तर, ७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै । हामीले सुरुमा गएका भनेका हौं हामी हो पार्टी भनेर । ३० दिन त के १० दिन पनि पुगेको थिएन हामी जाँदा । त्यसलाई हिसाब नगर्ने अनि केपी ओलीले गएर धम्काउँदा बित्तिकै त्यसैलाई मात्रै हेर्नुभयो भने तपाईंहरुको खुट्टी पनि देख्छन् नेपाली जनताले । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’

दाहालले ओली भगवानको शरणमा गए पनि आफूहरुका लागि जनता नै भगवान् भएको दाबी गरे । तर, ओली अझै पनि सच्चिने भन्दा मुर्खता गर्ने पक्षमा रहेको दाहालको भनाइ छ । 'केपीजी तपाईं भ्रममा कतिदिन बाँच्‍ने हो ? तपाईंलाई म सल्लाह दिन चाहन्छु । तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो । राष्ट्रका विरुद्ध, जनताका विरुद्ध । तपाईंले अलिकति आफूलाई ठाउँ राख्ने हो तुरुन्तै राजीनामा दिनुस्, पश्चाताप गरेर वक्तव्य निकाल्नुस्,’ उनले भने, 'तपाईंलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन् । तपाईं अझै मूर्खता गर्नेमा हुनुहुन्छ । तपाईं अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ । तपाईं आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानु भएको छ ।’

'ओलीको पाप बत्ती बालेर त्यत्तिकै धोइपखाली गर्न सकिदैँन' : नेपाल

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन् ।

केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ,' नेता नेपालले भने, 'तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।'

देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताए ।

नयाँ कुलमानहरू नियुक्त गरेर जनताका समस्या समाधान गर्नुपर्छ : शर्मा

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताए । देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने नेता शर्माले बताए । 

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित आमसभामा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताए ।

सम्बोधनका क्रममा नेता शर्माले भने, ‘देश र जनतालाई उपलब्धि दिने क्षेत्रमा नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छ । त्यस्तै खालका संरचना चाहिन्छ । नयाँ कुलमानहरुको माध्यमबाट जनताको समस्या समाधान गर्नुपर्छ ।’

चुनाव घोषणा गरेर लोकतन्त्रवादी देखाउन सरकारी गुटले स्याल हुइयाँ गरिराखेको छ : प्रवक्ता श्रेष्ठ

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताएका छन् । 

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको वास्तविक चुनाव नभएकोले त्यसलाई प्रतिगमनविरुद्धको आन्दोलनले खारेज गर्ने दाबी गरे । 'वास्तवमा केपी ओलीले यो चुनाव गर्न घोषणा गरेको पनि होइन । चुनाव नगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्रविरोधी भएको हामी धज्जी उडाउँछौं र हामी प्रतिगमनविरोधी आन्दोलनलाई सफल बनाएर त्यसलाई खारेज गर्न तत्पर छौं,' प्रवक्ता श्रेष्ठले भने ।

सारा लोकतन्त्रवादीहरु चुनावको पक्षमा रहेको प्रस्ट्याउँदै नेता श्रेष्ठले अहिले घोषणा गरिएको चुनाव संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने भएकोले आफूहरुलाई मान्य नहुने बताए ।

'दुईवर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ' : खनाल

नेकपा दाहाल–नेपालसमूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा दाहाल-नेपाल समूहद्वारा काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता खनालले ओलीलाई मार्क्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको बताए ।

'केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके । अब पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसिके । मार्क्सवादमाथि विश्वास छैन, भविष्यमाथि विश्वास छैन । ओलाई अब पशुपतिनाथको मूर्तिमाथि विश्वास छ,’ खनालले भने ।

अहिलेको लडाइँ नेकपाको दुई गुटको नभइ ओलीको प्रतिगामी कदमविरुद्ध भएको खनालको भनाइ छ । 'यो आन्दोलन प्रतिक्रान्तिका विरुद्ध, सम्पूर्ण नेपाली जनताको आन्दोलन हो । यो क्रान्ति हो । प्रतिक्रान्ति भएको देशमा । त्यो प्रतिगनम हो,' उनले भने,'त्यसका विरुद्ध अर्को क्रान्ति गर्दैछौं । ओलीको तानाशाही प्रवृत्तिविरुद्ध हो । सिंगो देशका जनताको आन्दोलन हो । नेकपाको दुई गुटको लडाइँ हैन ।'

ओलीको तानाशाहीतन्त्र पतन नहुँदासम्म आन्दोलन जारी रहन्छ : गुरुङ

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वका नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङले केपी शर्मा ओलीको 'तानाशाहीतन्त्र' पतन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै गुरुङले ओलीको 'तानाशाहीतन्त्र'लाई पराजित नगर्दासम्म आन्दोलन जारी रहने बताएका हुन् । संविधान र लोकतन्त्रको रक्षा गर्न जनता विरोधमा आउनुपर्ने उनको भनाइ थियो ।


#दाहाल–नेपाल समूह #प्रतिनिधिसभा विघटन #विरोध

प्रतिकृया दिनुहोस