२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

- विशेष खबर बुधबार २८, माघ २०७७ १२:३९

नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन गर्दै
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।

पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व गर्न पार्टीले विभिन्न नेताहरूलाई कमान्डर तोकेको छ ।

सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत हुनेछन् । सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने भएका छन् । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैछन् ।

दाहालले फागुन पहिलो साताबाट अझ ठूलो आन्दोलन हुने बताउँदै आएका छन् । दाहाल–नेपाल समूहले यसअघि पनि काठमाडौंमा विरोधसभाका साथै देशव्यापी आमहडताल आयोजना गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसलगायत दल र नागरिक समाजले पनि सरकारको उक्त कदमको विरोध गर्दै आएका छन् ।

 


#दाहाल–नेपाल #नेकपा #आन्दोलन

प्रतिकृया दिनुहोस