२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

चालु आर्थिक वर्षको पहिलाे ६ महिनामा ५ खर्ब बराबरको रेमिट्यान्स भित्रियाे

- रासस सोमबार २६, माघ २०७७ ०८:०६

चालु आर्थिक वर्षको पहिलाे ६ महिनामा ५ खर्ब बराबरको रेमिट्यान्स भित्रियाे

काठमाडाैं । चालू आर्थिक वर्षको ६ महिनामा झण्डै ५ खर्ब बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा कूल ४ खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई पाँच खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति  २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ । 
 
समीक्षा अवधिमा चालू खाता  ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता  ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

यस्तै, पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमीआई ६ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमीआई ७ अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रहेको थियो ।
 


#रेमिट्यान्स #आर्थिक वर्ष

प्रतिकृया दिनुहोस