२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

मंगलबार संवैधानिक इजलास नबस्ने

- विशेष खबर सोमबार २६, माघ २०७७ ०५:१५

मंगलबार संवैधानिक इजलास नबस्ने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलास नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको सोमबार निधन भएकाले मंगलबारको संवैधानिक इजलास नबस्ने भएको हो ।

मंगलबार अदालतका प्रशासनिक कामकारबाही सञ्चालन हुने सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् ।

ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि केही दिनयता विपक्षीका वकिलले बहस गरिरहेका छन् । सोमबार पनि प्रधानमन्त्री ओलीका निजी वकिलहरूले बहस गरिरहेका छन् ।

प्रधानमन्त्रीका निजी वकिलको बहस सकिएपछि सभामुखका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । त्यसपछि विज्ञहरूको समूह 'एमीकस क्युरी'ले आफ्ना धारणा राख्नेछ ।


#प्रतिनिधिसभा विघटन #संवैधानिक इजलास

प्रतिकृया दिनुहोस