२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न कांग्रेसकाे अपिल

- विशेष खबर शुक्रबार २३, माघ २०७७ ०६:३०

सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न कांग्रेसकाे अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गरेको छ । नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

प्रबक्ता शर्माले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, 'नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं । संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।'

त्यस्तै प्रवक्ता शर्माले सरकारका असंवैधानिक कदमविरुद्ध आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने पनि बताएका छन् । कांग्रेसले शनिबार शुभेच्छुक संस्थाहरूको प्रदर्शन गर्ने र फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने पनि उनले जानकारी दिएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा र नियुक्ति र शपथ ग्रहणमा सरकारले संविधानविपरीतको कर्म गरेको पनि प्रवक्ता शर्माले बताए । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रस्ट रुपले विरुद्धमा उभिएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।'


#नेपाली काँँग्रेस #आन्दोलन # विश्वप्रकाश शर्मा

प्रतिकृया दिनुहोस