२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

नेकपा ओली समूहको जनसभा नारायणहिटी दरवार अगाडि

- विशेष खबर आइतबार १८, माघ २०७७ ०२:२७

नेकपा ओली समूहको जनसभा नारायणहिटी दरवार अगाडि
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी थालेको छ ।

काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको कमिटीले जनाएको छ। सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको अवस्थामा नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको बताए । उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्नेछन् । यसका लागि ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा तय गरिएको छ ।

प्रदेश कमिटीको माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय संगठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले स्वय‌ंसेवक परिचालन गर्ने जनाइएको छ ।

उक्त दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलुसमा सहभागी हुने कमिटीले जनाएको छ । कमिटीका अनुसार जुलुसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय संगठन आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाका प्रतिनिधि आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ । सभाको तयारीका लागि माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकल र्‍यालीसमेत गरिने जनाइएको छ।


#केपी शर्मा ओली

प्रतिकृया दिनुहोस