२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बाेलायाे

- विशेष खबर बिहिबार १५, माघ २०७७ ०६:५३

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बाेलायाे

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचन प्रयोजनका लागि शुक्रबार उपस्थित हुन बोलाएको छ ।

दुवै समूहका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले शुक्रबार दिउँसो साढे ११ बजे बोलाएको हो ।

आयोजका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाएको हो । शुक्रबार नेकपाको विभाजनसम्बन्धी पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोजले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धीमा शुक्रबार आयोगमा छलफल हुने बताइएको छ ।

यसअघि नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरेको जानकारी दुवै पक्षलाई पठाइसकिएको छ ।

विवाद बढेपछि दुवै पक्षले अलग–अलग ढंगले केन्द्रीय समितिको बैठक बसेर गरेका निर्णयहरू आयोगले स्वीकार नगरेपछि नेकपा औपचारिक रूपमा फुटेको मानिएको छैन । तर नेकपाका दुवै पक्षले दलको आधिकारिकतासम्बन्धी मागदाबीमा प्रवेश नगरी पार्टीमा गरिएको हेरफेर अद्यावधिक गरिदिन दबाब आयोगमाथि दिँदै आएका छन् ।


#निर्वाचन आयोग #नेकपा

प्रतिकृया दिनुहोस