२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

काठमाडौंमा दाहाल–नेपाल समूहकाे विरोध प्रदर्शन, कसले के भने ? हेर्नुहाेस्

- विशेष खबर शुक्रबार ०९, माघ २०७७ ०४:१४

काठमाडौंमा दाहाल–नेपाल समूहकाे विरोध प्रदर्शन, कसले के भने ? हेर्नुहाेस्

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका थिए ।

नेकपाले शुक्रबारको विरोधसभाका लागि निर्देशिका जारी गर्दै निर्धारित नाराहरू मात्र लगाउन कार्यकर्तालाई आग्रह गरेको थियो । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट निकालिएका जुलुसलाई विभिन्न नेताले नेतृत्व गरेका थिए ।

विरोध सभामा कसले के भने ?

तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौंः पुष्पकमल दाहाल

नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विभिन्‍न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताएका हुन् ।

तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,' उनले भने, 'सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म आत्मआलोचना गर्न चाहन्छु ।' ‌ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको दाहालको भनाइ थियो ।

ओली हिटलरको नेपाली रूपः माधवकुमार नेपाल

नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर ‘कू’ गरेको बताएका छन्।

आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेपालले पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको र त्यो असंवैधानिक भएकोले ‘कू’ भएको बताएका छन्।

‘उहाँले कू गर्नुभयो,’ उनले भने, ‘उहाँ कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नभएकोले स्पष्टिकरण सोधिएको छ। उहाँले जवाफ दिनुभएको छैन।’

ओलीलाई आफूहरूले अध्यक्ष हटाइसकेको उनको भनाइ थियो।

ओली हिटलरको नेपाली रूप भएको आरोप पनि उनको छ। हिटलरकै बाटोमा ओली हिँडेकोले विरोध गर्नुपरेको नेपालको भनाइ छ।

ओलीसँग ५० वर्ष संगत गरेको बताएका नेपालले जहिले पनि हैरान पार्ने मानिसका रूपमा ओलीलाई चित्रण गरेका छन्। आफूलाई अप्ठ्यारो पर्दा ओलीले प्रतिनिधि सभा नै सिध्याइदिएको नेपालको भनाइ थियो।

ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहन्छः झलनाथ खनाल

दाहाल-नेपाल समुहको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले  प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताएका हुन् ।

‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिँडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ ? यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने ।

ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो । केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

वरिष्ठ नेता खनालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गरिएको पनि बताएका छन् ।

ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुनदिन्नैः घनश्याम भुसाल

दाहाल-नेपाल समुहको नेकपाका नेता घनश्याम भुसालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा नेता भुसालले यतिबेला सबैले प्रधानमन्त्री ओलीले सबैतिर सेटिङ मिलाएका छन् भनेर भन्ने गरे पनि त्यसो हुन नदिइने बताएका हुन् ।

भुसालले सम्बोधनका क्रममा भने, 'अब केपी ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइनेछैन । सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका छन् भन्ने गरेका छन् । तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ ।' '२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनुहुनेछ,' भुसालले भने ।


#प्रतिनिधिसभा विघटन #विरोध प्रदर्शन #दाहाल–नेपाल समूह

प्रतिकृया दिनुहोस