२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ अहिले पनि सान्दर्भिक र अपरिहार्य

- नबिन अवस्थी बिहिबार १६, पुष २०७७ १०:२३

‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ अहिले पनि सान्दर्भिक र अपरिहार्य
तस्बिर स्राेत : मदन पुरस्कार पुस्तकालय

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कएकाे दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । 
 
यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी ४५औँ मेलमिलाप दिवस मनाउन लागेको छ ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । 
 
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
 
तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।

यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । 
 
शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा गएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थियो ।
 
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका छन् । बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुर्याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेका दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ । 

 


#वीपी कोइराला #नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस