२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

नेपाल ट्‍वान्टी-२० विश्‍वकपको ग्लोबल छनोटमा

- विशेष खबर बुधबार ०१, पुष २०७७ ११:०६

नेपाल ट्‍वान्टी-२० विश्‍वकपको ग्लोबल छनोटमा
फाइल तस्बिर ।

काठमाडौं । अस्ट्रेलियामा २०२२ मा हुने ट्वान्टी–२० विश्वकपका लागि नेपाललाई ग्लोबल छनोटमा सोझै प्रवेश दिइएको छ ।

विश्व ट्वान्टी–२० वरीयतामा शीर्षस्थ टोली भएका कारण नेपालसहित जिम्बाब्वे, सिंगापुर र यूएईलाई ग्लोबल छनोटमा स्थान दिइएको छ ।

ट्वान्टी–२० विश्वकप अस्ट्रेलियामा २०२२ को अक्टोबर–नोभेम्बरमा हुने तय भइसकेको छ । त्यसका लागि ग्लोबल छनोट हुनेछ । त्यसको मिति र स्थान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खुलाएको छैन ।

नेपाल, जिम्बाब्वे, सिंगापुर र यूएईसहित २०२१ मा भारतमा हुन लागेको विश्वकप ट्वान्टी–२० का पुछारका चार टोली तथा क्षेत्रीय छनोटबाट आउने ८ टोली गरी ग्लोबल छनोटमा १६ टोलीको सहभागिता रहने छ ।

सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिने छ र प्रत्येक समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिने छ । नेपाल ट्वान्टी–२० आईसीसी वरीयातामा १५औं, जिम्बाब्वे १२ औं, यूएई १३औं र सिंगापुर २० औं स्थानमा छ ।

नेपाललाई क्षेत्रीय छनोटमा उछिन्दै सिंगापुर २०१९ को ग्लोबल छनोटमा पुगेको थियो । पहिलो पटक ग्लोबल छनोट खेल्ने क्रममा सिंगापुरले यूएईमा स्कटल्यान्डलाई पहिलो खेलमै स्तब्ध पारेको थियो ।

२०१९ को ग्लोबल छनोटमा १४ टोली खेलेका थिए भने अव हुने ग्लोबल छनोटमा १६ राष्ट्र प्रतिस्पर्धा गर्दैछन् । हङकङले अव क्षेत्रीय छनोट खेलेर ग्लोबल छनोटमा आउनु पर्ने भएको छ । लगातारको कमजोर प्रदर्शनका कारण हङकङ ट्वान्टी–२० अन्तर्राष्ट्रियको २३औं वरीयतामा झरिसकेको छ ।

यूएईमा २०१९ मा भएको ग्लोबल छनोटमा नेपाल पुग्नै सकेको थिएन भने जिम्बाब्वेलाई प्रतिबन्धका कारण खेल्न दिइएको थिएन । त्यो छनोट २०२० मा अस्ट्रेलियामा हुने भनिएको विश्व ट्वान्टी–२० का लागि थियो । तर कोभिड–१९ का कारण २०२० को सो प्रतियोगिता २०२१ मा भारतमा सारिएको छ । त्यसमा १० पूर्ण राष्ट्रसहित स्कटल्यान्ड, नेदरल्यान्ड्स, आयरल्यान्ड, पपुवा न्यु गिनी, नामिबिया, ओमानले प्रतिस्पर्धा गर्दैछन् ।


#नेपाली क्रिकेट

प्रतिकृया दिनुहोस