२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

बिग बास खेल्न मंगलबार अष्ट्रेलिया जादै सन्दीप लामिछाने

- विशेष खबर बिहिबार २५, मङि्सर २०७७ ०९:१८

बिग बास खेल्न मंगलबार अष्ट्रेलिया जादै सन्दीप लामिछाने
फाइल तस्बिर ।

काठमाडाैं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मंगलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन् । 

अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्नुहुने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन् ।

यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए । दशौँ संस्करणको बिग बास लिग आजदेखि शुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।  

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका थिए । 

ट्रिनिडाड एण्ड टोबागोमा भएको सिपिएलमा जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए।

सिपिएलपछि उहाँ युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी भएका थिए ।

दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आइपिएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन् । 

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोना संक्रमित भएका थिए । लामिछाने हाल काेराेनामुक्त भइसकेका छन्।   


#सन्दीप लामिछाने

प्रतिकृया दिनुहोस