२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

गतिशील पार्टी र सफल सरकारकाे चाहना

नारायण घर्ती बुधबार २६, कार्तिक २०७७ ०८:४९

गतिशील पार्टी र सफल सरकारकाे चाहना

आफूद्वारा चुनिएका जनप्रतिनिधिहरुले आफ्नो पक्षमा काम गरुन् भन्ने जनताको आकांक्षा हुन्छ। जनताका तिनै आकांक्षाहरु पूरा गर्न गठित 'सर्वोच्च संस्था' सरकार हो। यसकारण, सरकारसँग जनताका सम्पूर्ण अपेक्षाहरु रहन्छन्। पछिल्लो निर्वाचनमा दुई ठूला नेपाली कम्न्युष्ट पार्टीहरु मिलेर चुनाव लड्दा आफ्नो पक्षमा व्यापक जनमत प्राप्त गरे। जस परिणामस्वरूप नेकपा बन्यो र देशले करिब दुईतिहाइको सरकार पायो। विगतमा सरकारहरु कमजोर पृष्ठभूमिमा निर्माण हुने अबस्थामा चिर्दै यो पटक ऐतिहासिक रुपमै बलियो सरकार बनेको थियो। यसकारण पनि जनतामा स्थायित्व चाहना र विकासको भोक जाग्यो।

नितिगत र व्यबहारगत रुपमा नयाँ शासन ब्यबस्थालाई स्थापित गर्नुपर्ने चुनौतीहरु सामना गर्दै अगाडि बढ्ने प्रयास सरकारले प्रारम्भदेखि अहिलेसम्म निरन्तर गरिरहेको देखिन्छ। सिमित साधन स्रोत, असीमित चाहाना र नयाँ शासन ब्यबस्था स्थापित गर्नुपर्ने दायित्व बिचको तालमेल मिलाउने कुरा अवश्य चुनौतीपूर्ण नै हुन्छ। नेकपा नेतृत्वको सरकार यिनै चुनौतीहरु जनअपेक्षित रूपमा कार्यान्वयन गर्दै अगाडि बढेको देखिन्छ। देशमा कमजोर आर्थिक अवस्था र उत्पादन प्रणाली हुनाले सम्पूर्ण जनअपेक्षाहरुलाई तत्कालै सम्बोधन गर्ने कुरामा अवश्य कठिनाई छन, यद्यपि सरकारका कार्यशैलीहरु जनअपेक्षाहरु सम्बोधन गर्न केन्द्रित भएका देख्न पाइन्छ।

नयाँ पुस्ताको हरेक युवा-बिध्यार्थीले पार्टीको अग्रज नेतृत्व र सरकार प्रति आलोचनात्मक चेत राख्नुपर्छ। तर, त्यो आलोचनात्मक चेत बस्तुनिष्ठ र रचनात्मक हुन जरुरी छ। अग्रज नेतृत्वका राम्रा कामहरू हाम्रा प्रेरणाका स्रोत हुनभने  उहाँहरुका कमजोरी हाम्रो सिकाइका आधार हुन। हामी यसरी आफूलाई परिस्कृत बनाएर अगाडि बढ्न सक्छौ। तर विडम्बना, आजका कयौं युवा बिध्यार्थी नेताहरूको मानसिकता केहि भिन्न देखिन्छ।

नेकपाको सरकारले गरेका उल्लेख्य राम्रा कामहरू जनताबीच लग्नुपर्नेमा एक पक्षीय ढङ्गबाट आलोचनात्मक किसिमले मात्र प्रस्तुत भएको देखिन्छ। हामी युवा बिध्यार्थी आन्दोलनका सम्बाहकहरु आलोचनात्मक हुनु सान्दर्भिक हुन्छ, तर पूर्वाग्रही हुनु पूर्णत असान्दर्भिक हुनजान्छ।

हामीले प्रसंसा गर्नुअघि प्रसंसाका आधार विश्लेषण गर्नुपर्छ। आलोचना गर्नुअघि आलोचनाका आधार विश्लेषण गर्नुपर्छ। तबमात्र हाम्रा हरेक तर्कहरु वस्तुगत हुनजान्छन्। नेकपा नेतृत्वको सरकारले राम्रो काम गर्दा देश र जनताको भविष्य राम्रो बन्छ, नेकपाको भविष्य राम्रो बन्छ र नेकपामा आबद्ध हरेक नेता कार्यकर्ताको राजनीतिक भविष्य पनि राम्रो बन्छ। हाम्रा संगठन र हामी युवा-बिध्यार्थी नेताहरु पार्टीको मार्गदर्शक सिद्धान्तबाट निर्देशित तर निर्णयात्मक हिसाबले स्वतन्त्र मानिन्छौ।

यसकारण हामी पार्टी नेताहरूको गुणगान नगाउँला तर पार्टीले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्नु हाम्रो पनि दायित्व हो। पार्टीको जुनै नेताले सरकारको नेतृत्व गरेको भएपनि त्यसका कामहरूका लाभ-हानीका हिस्सेदार हामी पनि हुनजान्छौं। हामी युवा बिध्यार्थी नेताहरु भोलिका जनप्रतिनिधि हौ। भोलिको नेकपा हाक्ने जिम्मेवारी पनि हाम्रै काधमा छ।

प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडानका कारण पाएको व्यापक जनमतका आधारमा निर्मित यो सरकारले कयौं राम्रा कामहरु गरेको छ। संघीय शासन ब्यबस्था कार्यान्वयनका निम्ति कानुनिक प्रावधानहरु संस्थागत गर्ने, प्रदेशहरुलाई सामर्थ्यवान बनाउने, देशमा ठूल्ठूला भौतिक पूर्वाधारहरु निर्माण अगाडि बढाउने, भुकम्पद्वारा क्षतिग्रस्त सम्पदाहरु पुनर्निर्माण गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिकलाई मजबुत र फराकिलो बनाउने, मिचिएको नेपाली भुमि फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाउने, देशमा उद्यमशीलता र लगानी अनि रोजगारीको वातावरण निर्माण गर्ने, कोरोना महामारी बिरुद्ध लड्ने कुरामा सशक्त रुपमा अगाडि बढ्ने लगायतका कयौं उल्लेखनीय कामहरू भएका तथ्यहरु हाम्रा सामु छर्लङ्ग छन।

पार्टी र जनवर्गीय संगठनहरु एकत्रित भैसकेको परिप्रेक्ष्यमा पनि सरकार यस्ता जनमुखी कामहरुको प्रचारप्रसार गर्ने सन्दर्भमा व्यापक पूर्वाग्रह देखिन्छ। पार्टी र संगठनको एक पक्षमा पार्टी प्रति आलोचनात्मक चेत राख्ने तर सरकारको गुण र दोषका आधारमा मुल्यांकन गर्दै राम्रा कामहरूको जनता माझ अभिव्यक्त गर्छ। अर्को पक्ष भने सरकार प्रति पूर्ण रुपमा आलोचनात्मक देखिन्छ। संचार माध्यामदेखि समाजिक संजालसम्म आलोचनात्मक रुपमा मात्र प्रस्तुत हुन्छ वा तथ्यहिन आलोचना गर्नेहरु सँगमात्र अन्तरक्रिया गर्छ, साइनो गास्छ। जुन कुरा पार्टी र संगठनको बिधानले समेत परिकल्पना गर्दैन। पार्टी र संगठनमा रहेर त्यस किसिमको भूमिका देखाइरहनु भएका साथीहरूले आत्मसमिक्षा गर्नैपर्छ। पदीय जिम्मेवारीमा रहेर पनि पूर्वाग्रही दृष्टिकोण राख्नु कुनै कोणबाट पनि उचित हुनैसक्दैन।

चुनावी नारा अनुसार नै सरकार सुशासन र समृद्धिको बाटोमा अगाडि बढिरहेका बेला पार्टीभित्रै बाट अबरोधहरु खडा गर्न खोजिदैछ। कम्न्युष्ट पार्टी प्रति जनताहरुको आकर्षण निरन्तर बढिरहेको यो समयमा सम्माननिय प्रधानमन्त्री केपी ओलीलाई स्वतन्त्र र बिना अवरोध काम गर्नदिनु पार्टीका हरेक नेताको दायित्व हो। प्रधानमन्त्रीले आफ्नो कार्यक्षेत्रभित्र रहेर मन्त्री परिषदका जिम्मेवारी र कामकारबाही सम्बन्धि निर्णय लिन पाउनुपर्छ। परिभाषित जिम्मेवारी भन्दा बाहिर आएर अन्य नेताहरूले प्रस्तुत हुनु आवश्यक छैन।

पार्टी भित्रै प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका नेताहरुले पनि हिजोका दिनमा पार्टीको नेतृत्व गरिसक्नुभएको छ। आज हाम्रो पार्टीको बलियो सरकार गठन गर्ने हैसियत सम्म पुर्‍याउनुको श्रेय केपी ओलीलाई जान्छ। अन्य नेताहरूले नेतृत्व गर्दा हाम्रो पार्टी कहिल्यै निर्णयात्मक भूमिका निर्वाह गर्ने ठाउँमा हुन्थेन, आज छ। फरक पृष्ठभूमिबाट आएको, कमजोर जनमत र सांगठनिक धरातल भएको पार्टीसँग एकता गर्दै देशमा कम्न्युष्ठ शक्तिलाई मजबुत बनाउने काम केपी ओलीले गर्नुभयो। यसकारण, सरकार र पार्टी संचालनको मुख्य अभिभारा उहाँकै काधमा रहनुपर्छ।  

मजबुत पार्टी, मजबुत संगठन, गतिशील सरकार हामी सबैको चाहना हो। यसकारण, हाम्रा प्रयासहरु पनि यसैतर्फ केन्द्रित हुनुपर्छ। पार्टी र संगठनलाई मजबुत बनाउन हरेक जिम्मेवार नेता कार्यकर्ताको एकत्रित प्रयासको खाँचो पर्दछ। आफ्नो जिम्मेवारी कुशल ढङ्गले निर्वाह गर्दै, अन्य नेता र कार्यकर्ताको पनि सम्मान गर्दै अगाडि बढ्न सक्दा मात्र हामी सशक्त रुपमा अगाडि बढ्न सक्छौ।

इतिहासका विभिन्न कालखण्डहरुमा देखिन्छ कि, तत्कालीन समयमा व्यापक जनमत प्राप्त गरेका राजनीतिक दलहरु पनि आन्तरिक कल्हका कारण आफ्नो अस्तित्व नै गुमाउन पुगेका छन। यो बिषयलाई मनन गर्दै हाम्रो पार्टीको नेतृत्व तह र हामी युवा बिद्यार्थीहरु अगाडि बढ्नु नै आजको मुख्य अभिभारा हो।

(लेखक अनेरास्ववियूका केन्द्रीय नेता हुन)


#नेकपा

प्रतिकृया दिनुहोस