२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

मुम्बई पाँचौ पटक आइपीएल च्याम्पियन

मङ्गलबार २५, कार्तिक २०७७ ११:२९

मुम्बई पाँचौ पटक आइपीएल च्याम्पियन

काठमाडाैं । मुम्बई इन्डियन्स पाँचौ पटक इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। 

मंगलबार युएईको दुबईमा भएको १३औं संस्करणको उपाधि भिडन्तमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो। 

यसअघि मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो। गत संस्करणको विजेता मुम्बई सन् २०११ पछि लगातार दुई पटक उपाधि जित्ने पहिलो टिम बन्यो। आइपिएल इतिहासमा मुम्बई सर्वाधिक उपाधि जित्ने टिम हो । यसअघि सन् २०१० र २०११ मा चेन्नई सुपरकिंग्सले लगातार उपाधि जितेको थियो। 

यता पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि जितेर इतिहास बनाउने लक्ष्यमा थियो। मंगलबार दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १८.४ ओभरमा सहज रुपमा पार गर्‍यो।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको योगदान दिए। उनले ५१ बलमा ५ चौका र ४ छक्का हिर्काए। 

क्वान्टन डी ककले २० रन र सूर्यकुमार यादव १९ रनमा आउट भए। इशान किसनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नटआउट ३३ रन बटुले। 

बलिङमा दिल्लीका एनरिच नोकियाले २ विकेट लिए भने कागिसो रबाडा र मार्कोस स्टोइनिसले १-१ विकेट लिए। फाइनलमा पनि विकेट लिएसँगै रबाडा २०२० को आइपिएलमा सर्वाधिक ३० विकेट लिने बलर बने। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन जोड्यो। 

दिल्लीका लागि कप्तान श्रेयस इयर र रिशव पन्तले अर्धशतक प्रहार गरे। इयरले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन जोडे। पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्का हिर्काउँदै ५६ रनको योगदान दिए।

खराब ओपनिङ गरेको दिल्लीका मार्कोस स्टोनिस पहिलो बलमै आउट भए। तेस्रो ओभरमा अजिन्का राहाणे २ रनमा आउट हुँदा अर्को ओभरमा शिखर धवन १५ रन बनाएर आउट भएका थिए। 

महत्वपूर्ण तीन ब्याट्सम्यान चार ओभर नसकिदै २२ रन बनाएको स्थितिमा आउट भएपछि दिल्ली दबाबमा परेको थियो। दबाबमा परेको दिल्लीका लागि पन्त र श्रेयसले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। 

बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए। पहिलो बलमै स्टोइनिसलाई आउट गरेका उनले ४ ओभरमा ३० रन खर्चिए। नाथन नाइलले २ विकेट र जयन्त यादवले १ विकेट लिए। फाइनल खेलमा जसप्रित बुमराहाले विकेट लिन सकेनन्। उनले ४ ओभरमा २८ रन खर्चिएका थिए। 


प्रतिकृया दिनुहोस