शुक्रबार २३, असोज २०७७ ०७:२२
काठमाडाैं । आईपीएलको १३ औँ सिजनको २२ औँ खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गरेको छ ।
आईपीएलमा पञ्जाबविरुद्ध हैदराबादको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१९ मा हैदराबादले पञ्जाबलाई ४५ रनले पराजित गरेको थियाे ।
दुबईमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै हैदराबादले २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पञ्जाबले १६.५ ओभरमा मात्र १३२ रन बनाएर अलआउट हुनपुग्यो ।
पञ्जाबलाई सस्तोमा समेट्न रासिद खानले घातक बलिङ गरे । उनले ४ ओभरमा १ मेडेन राख्दै मात्र १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, टी नटराजन र खलिल अहमदले २–२ विकेट लिए ।
पञ्जाबका लागि निकोलास पुरनले ३७ बलमा ७७ रनको विष्फोटक पारी खेले पनि उनलाई साथ दिने अन्य ब्याट्सम्यान भएनन् । १७ बलमा यो सिजनको सबैभन्दा तीव्र गतिको अर्धशतक पुरा गरेका पुरनले आफ्नो पारीमा ५ चौका र ७ छक्का लगाए । कप्तान लोकेश राहुल र सिमरन सिंहले ११–११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
यसअघि, जोनी बेयरस्टोको ९७ रनको मद्दतले हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । बेयरस्टोले कप्तान डेविड वार्नरसँग पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गरेका थिए । वार्नरले ५२ रन बनाए । योसँगै दुई जनाले १६ पारीमा १ हजारभन्दा बढीको साझेदारी पूरा गरेका छन् । दुई जनाले ५ पटक शतकीय र ४ पटक अर्धशतकीय पारी खलेका छन् । त्यस्तै, केन विलियमसनले २० रनको योगदान दिए । पञ्जाबका लागि रवि विश्नोईले ३ तथा अर्षदीप सिंहले २ विकेट लिए ।
प्रतिकृया दिनुहोस