मङ्गलबार ०६, असोज २०७७ ०९:५१
दुबई । रोयल च्यालेन्जर्स बेंग्लोरले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ६ विकेट गुमाउन पुगेपछि हैदराबाद पराजय भोग्न बाध्य भयो ।
१ सय ६४ रनको लक्ष्य लिएर आएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अलआउट भयो । युजभेन्द्र चाहलले ४ ओभरमा १८ रनमात्र खर्चेर ३ विकेट लिए । नवदीप सैनी र शिवम दुवेले २–२ तथा डेल स्टेयनले १ विकेट लिए । दुबई अन्तर्राष्ट्रिय रंगशालामा जोनी बेरस्टोको शटमा नन स्ट्राइकमा अर्का ओपनर एवं डेविड वार्नर रनआउट भएपछि नै हैदराबादको दुर्भाग्य सुरु भएको थियो । बलर उमेश यादवले फलो थ्रुमा बल रोक्न खोज्दा स्टम्पमा लागेपछि वार्नर ६ रनमा पेभेलियन फर्किए । मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाउँदै बेरिस्टोसँग दोस्रो विकेटमा ७१ रन जोडे । चौथो नम्बरमा आएका प्रियम गर्गले १२ रन बनाएपछि अन्य कसैले दोहोरो स्कोर बनाउन सकेनन् ।
यसअघि ट्वान्टी–२० मा डेब्यु गरिरहेका देवदत्त पाडिक्कल तथा भेट्रान दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको बेंग्लोरले ५ विकेट गुमाई १ सय ६३ रन बनाएको थियो । ओपनर पाडिक्कलले ४२ बलमा ८ चौकासहित ५६ र डी भिलियर्सले ३० बलमा ४ चौका र २ छक्कासहित ५१ रन बनाए ।
पाडिक्कलले ओपनर आरोन फिन्चसँग पहिलो विकेटमा ११ ओभरमा ९० रन जोडे । फिन्चले २७ बल खेली १ चौका र २ छक्का प्रहार गरी २९ रन बनाए । कप्तान विराट कोहली १४ र शिवम दुबे ७ रनमा आउट भए । हैदराबादका विजय शंकर, अभिषेक शर्मा र टी. नटराजनले १–१ विकेट लिए ।
प्रतिकृया दिनुहोस