२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

आईपीएल : सुपर ओभरमा दिल्लीकाे रोमाञ्चक जित

सोमबार ०५, असोज २०७७ ०७:४८

आईपीएल : सुपर ओभरमा दिल्लीकाे रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा सुरुमा ब्याटिङ गरेका थिए । तर दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराए । पहिलो बलमा रबाडाले २ रन दिए पनि त्यसपछि लगातार २ बलमा २ विकेट लिए ।

दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गर्‍यो । कप्तान श्रेयस अयेर र विकेटकिपर ऋषभ पन्तले दिल्लीका लागि सुपर ओभरमा ब्याटिङ गरेका थिए ।

त्यसअघि मार्कुस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ५३ रन बनाएपछि दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । अन्तिम ओभरमा मात्रै २५ रन बनाएका स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गर्दै २० बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै कप्तान श्रेयस अयेरले ३९ र ऋषभ पन्तले ३१ रन बनाएका थिए ।

 


प्रतिकृया दिनुहोस