२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपा बैठकमा उठेका तीन विकल्प के के ?

- विशेष खबर आइतबार ०४, असोज २०७७ ०७:०१

नेकपा बैठकमा उठेका तीन विकल्प के के ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको बाटो खोलेपछि नेकपामा आइतबारेदेखि यसमा औपचारिक छलफल सुरु भएको छ ।

आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनलाई मुख्य एजेन्डा बनाएर छलफल गरिएको हो । तर, कहिलेसम्म गर्ने भन्ने टुंगो लागेको छैन । 

बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको ठोस मापदण्ड तय नभए पनि विभिन्न विकल्पमा छलफल भने सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकपछि उनले भने, ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय भएको छ । सचिवालयमा पुनर्गठनको मापदण्डका सम्बन्धमा विभिन्न कोणबाट नीतिगतरुपमा सुझाव दिइएको छ । व्यक्तिका नामका सन्दर्भमा प्रवेश भएको छैन । आवश्यक परे प्रधानमन्त्रीसँग पछि नै छलफल हुन्छ ।’

सचिवालयका एक सदस्यका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे तीन विकल्पमा छलफल भएको छ । ती सदस्यले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे दुई–तीनवटा विकल्पमा छलफल भएको छ । सबै हटाउने सबै राख्ने एउटा विकल्प आएको छ । सबै नहटाउने तर दुई वर्ष पुगेकालाई हटाउने, पछि गएकालाई नहटाउने र अरु नयाँ राख्ने दोस्रो विकल्प । तेस्रो, त्यो नगरेर पुराना केही राम्रो काम गरेकालाई राख्ने र बाँकी थप्ने विकल्प माथि छलफल भएको छ ।’

उनका अनुसार पहिलो दुई वटा विकल्प भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो विकल्पमा जोड छ । हाल राम्रो काम गरेकालाई राख्ने र बाँकी नयाँ थप्ने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, सबै मन्त्री हटाउनुपर्ने पक्षमा भने कोही नेता थिएनन् । त्यसपछि नेताहरुले एउटै मापदण्ड बनाएर जाने विषयमा सहमति गरेका छन् । त्यस अगाडि थप छलफल गर्ने उनीहरुको योजना छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्रीलाई हटाएर नयाँ शिराबाट अगाडि बढ्न ठीक हुने बताएका थिए । ‘सबैलाई राजीनामा दिन लगाउँ । त्यसपछि पहिलाकै सिनियर, क्षमतावानलाई राख्ने र बाँकी नयाँलाई पठाउने ठीक हुन सक्छ । त्यसो गर्दा पुरै पुरानालाई हटाएर नयाँ राख्ने भन्ने पनि भएन । मन्त्रिपरिषद् भनेजस्तो गरी पुनर्गठन पनि हुन्छ । नयाँमा पनि सिनियर, क्षमतावान र योग्यहरुलाई बनाउँ । त्यसले सरकारको काम पनि प्रभावकारी हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

पार्टीभित्र उत्पन्न अन्तरविरोधले गर्दा सरकारका काम प्रभावित भएको निष्कर्षसहित नेकपा आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अघि बढ्न मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा छ ।

मन्त्रिपरिषद् पुनर्गठन गरेर सरकारको काम कोभिड–१९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणा पत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरुको कार्यान्वयन जस्ता महत्वपूर्ण विषयहरुमा केन्द्रित गर्ने नेकपाको तयारी छ ।

नेकपा स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे भनेको छ, ‘सचिवालयका सदस्यहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने ।’


#नेपाल कम्युनिस्ट पार्टी

प्रतिकृया दिनुहोस