बुधबार २४, भदौ २०७७ ०९:२७
काठमाडाैं । अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो । उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो । समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो ।
टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो । जमैकाले खाता नै खोल्न नपाउँदै विकेट गुमाउन पुग्यो । जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गरे ।
जमैकाले दुई रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराउनुभयो । जमैकाको विकेट पतनको क्रम यतिमै रोकिएन । टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो । मुजिबउर रहमान रन नै नबनाई पवेलियन फर्किनुभयो । उहाँलाई अकिल हुसैनले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराउनुभयो । जमैकाले पाँचौँ ओभरमा चौथो विकेट गुमायो । नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिँदै आसिफ अलीलाई चार रनमै केरोन पोलार्डको हातबाट क्याच आउट गराए ।
जमैकाका लागि नक्रुम बोनरले पारी सम्हाल्ने प्रयास गरे। उनले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिए । जमैकाको स्कोर ६३ रन छँदा उनी आउट भए । लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किए। उनले पाँच बल खेल्दै मात्र दुई रन बनाए । रसेललाई सुनिल नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए ।
त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाले । उनले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाए । उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काए। जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।
बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिए ।
एक सय आठ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले। जमैकाका बलरहरू नाइट राइसर्डका खेलाडीका अगाडि निरिह सावित भए ।
सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिए । उनले सुनिल नराइनेको विकेट लिएका हुन् । योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बनेका छ्न्।
सन्दीप विकेटविहीन
प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आउनुभएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुके । उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए।
तीन वाइड बल फालेका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने । प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उनी पाँचौँ स्थानमा रहे । नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए ।
यसअघि सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिएका थिए । उनी सीपीएलकै सबैभन्दा किफायती बलर भउका छन् । सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा छ खेलमा एक एक विकेट लिएका थिए । उनलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएलपछि अब उनको यात्रा इन्डियन प्रिमियर लिग (आइपीएल)तर्फ मोडिएको छ । - रासस
प्रतिकृया दिनुहोस